“स्वबलि”

जगदिश्वर थापा

२९ माघ, काठमाडौं ।
नेपाल, हिमालमुनी पहाड त्यसभन्दा तल शान्त र सौम्य तराइका मैदान, जस्लाइ अनेकन नदिहरूले जोड्छन् । सभ्यता र संस्कृतिका आफ्ना पुरातन गीतहरूमा पिडा, द्वेश, आवेग खुसी माया, प्रेम सबै साटेर बाँचेको समाज हरेक दिन छरपष्ट हुँदैछ। अचेल युवाआत्माहरू पीडा र निराशाको कथाभित्रका पात्र बन्दैछन् हरेक दिन, आफ्नो मातृभूमिप्रतिको प्रेम र उनीहरूको वर्तमान राजनीतिक परिदृश्यको कठोर वास्तविकताहरू बीचमा असरल्लै छरिँदै छ।

भर्खरै, CNN को चकित पार्ने दावीले हाम्रो राष्ट्रको स्थितीलाइ अपत्यारीलो भयावहतिर लगिदियो। युक्रेन विरुद्धको द्वन्द्वमा लड्न रुसी सेनामा १५ हजार हाराहारी नेपाली युवा भर्ना भएको दावी प्रस्तुत गरेको छ । तर यो समाचारले न सिंहदरवारलाइ छोएको छ नत शहर बजारका साँघुरो गल्लीहरू अनि दैनिकीमा बाँचेका आम नागरिकलाइ छोएको छ। अविश्वास र शोकको प्रहारले त उनैका परिवारलाइ मात्र छोएको छ, विसेक नहुने घाउ बनाउँदैछ ।

यो लापरवाह निर्णयको पछाडि भरोषा सकिएको निराशाको कथा छ। यी युवाहरूले आफ्नो जीवनको कदर गर्दैनन् भन्ने होइन; यो हो कि उनीहरूलाई लाग्छ कि उनीहरूसँग कुनै विकल्प छैन। नेपालको राजनीतिक उथलपुथलले यी युवा आत्माहरूलाई निराशाको छेउमा धकेल्दै हठात विन्दुमा पुराइदिएको छ।

चुनावमा पार्टीको पराजयका बाबजुद प्रचण्डको प्रधानमन्त्री पदमा पुगेको परिस्थितीले धेरैको आशालाई चकनाचुर पारेको छ । यसलाइ ति बुझाइहरूले प्रजातन्त्रको सारमा प्रहार मानेका छन्, युवाहरूले आफ्ना नेताहरूको निष्ठा र प्रणालीको निष्पक्षतामाथि मौन प्रश्न उठाएका हुन्, चुनावमा हारेको पार्टीलाई कसरी सत्तामा लगेर राखियो ? यस्तो व्यवस्थामा न्याय कहाँ छ ? राजनैतिक नैतिकता कहाँ बाँकी छ ? यस्तो अवस्थामा आफ्नो स्वभिमानलाइ धरौटी राखेर अकर्मण्य र लाज हराएका नेताको सुखका लागि हरेक दिन मर्दै राष्ट्रप्रेमको पासोमा किन झुन्डिन्थे र ? बरू मर्नै परेछ भने पनि परिवारका लागि केही त होला, आफ्नो प्राण बेचेर आफ्नाहरूको लागि सुख किनिदिने बाटो ।

सत्ताको पाइला पाइलामा प्रत्यक्ष र नितिगत भ्रष्टाचार व्याप्त छ, सरकारमा बस्नेहरूले आम जनताको दुर्दशालाई आँखा चिम्लेर बसेका छन्। जवाफदेहिता र पारदर्शिताका वाचाहरूले लामो भाषणमात्रै तयार गर्छन् । अवसरको उचाइ नातावाद र पक्षपातको संस्कृतिले लिएको छ। राम्रो भविष्यको सपना लोभ र छलको बोझले कुचिएको दुर्भाग्य लिएर कहाँ जाउन् युवाहरू आशाको भिख माग्दै । देशकै अभिभावक मानिएको सर्वोच्च पदीय व्यवस्था समेत सरकारको इसारामा एउटा विज्ञ्यप्ती प्रसारण गर्न बाहेक केही गर्न नसक्ने निरीहतामा छ ।

यस्तो डरलाग्दो परिस्थितिको सामना गर्दै युवायुवतीहरूले आफूसँग गुमाउन केही बाँकी छैन भन्ने महसुस गरेर आफ्नो मातृभूमिको धर्तीमा आफ्ना आशा र आकांक्षाहरूको अकाल मृत्युलाई सहनुभन्दा युद्धको मैदानमा आफ्नो ज्यान जोखिममा राख्नु श्रेय ठाने। यो असिमित निराशा र राजनितिक विश्वासघातको गहिरो भावनाबाट जन्मिएको हृदयविदारक छनोट बाहेक केही होइन ।

अर्को कोणबाट हेर्दा निराशाको बीचमा पनि साहस मरेको छैन, युवाहरू आफ्नो जिम्मेवारीबाट भागेका हैनन्; उनिहरूलाइ आफूमाथी विश्वास छ, आफ्नो देशभित्रै हराएको मानव हुनुको अस्तित्व हराएर राजनैतिक नवसामन्तवाद बाट बाहिर निस्केर आफ्नाहरको भविष्यका लागि अन्तिम बलिदान दिन तयार छन्, चाहे विदेशी भूमिमा आफ्नो ज्यान अर्पण गरे पनि।
जब हामी समाजको रूपमा आफुलाइ प्रस्तुत गर्छौं तब हामीले उनिहरूको आउने भविष्यलाइ जात धर्म वर्ग स्तर उत्पत्ती चालचालनका निश्चित चक्रव्यूह तयार गरेर कुरूक्षेत्र तयार गरिदियौं जुन यूद्धमा जस्ले जस्लाइ प्रहार गरेपनि आफ्नै मारिदैनन् र ? उनीहरूलाई यो हताश कार्यमा धकेलेर हामीले उनिहरूको स्वाभिमानको अपमान गरेका छौं, देशसेवा बाट वन्चित गरेर अन्याय गरेका छौं जस्को सजाय राष्ट्र अनेक रूपमा कालान्तरसम्म भोग्नेछ । प्रत्येक नागरिक सम्मान र गौरवका साथ बाँच्न सक्ने एउटा राम्रो, समृद्ध नेपालका लागि चाहिने सहास परिश्रमी उमेरलाइ क्रिमियाको जंगलतिर समाधि बन्न नदिउँ ।

भ्लादिमिर पुटिनको यूरोपियन यूनियन र आमेरिकाबिचको जितहार नहुने यो जुंगाको लडाइमा हाम्रा यूवाहरूको बली नचढाउँ। काल खोजेर जाने मर्छन् भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ती दिन छोडेर अटल संकल्पले उनीहरूलाइ मातृभूमी ल्याउन जोड गर्नु छ । यूवाहरूको त्यही साहसले हाम्रो परिकल्पनाको नयाँ नेपालकालागि मेहेनत गर्न प्रेरित गरोस्, जहाँ कुनै पनि युवा जीवन र मृत्यु, आशा र निराशाको बीचमा छनोट गर्न बाध्य नहुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment