सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँदै

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ। पुस ३ गते राष्ट्रपति भण्डारीले एक साताको समय दिँदै आज बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी गर्नका लागि समय दिएकी थिइन्।

तर अहिलेसम्म दलहरुबीच सहमति जुटेको छैन। निर्वाचनका कुनै पनि एक दलको बहुमत नआएकाले गठबन्धन गरेर सरकार निर्माण गर्नुपर्ने अवस्था छ। यता सरकार गठनका लागि सत्तारुढ गठबन्धन लागिपरेको छ।

तर दलरुले प्रयास गरे पनि एक साताको अवधिसम्म सहमति जुटाउन सकेका छैनन्। प्रधानमन्त्री बारे सहमति जुटाउनका लागि आज पुन: गठबन्धनको बैठक बोलाइएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको हो। शनिबार अबेरसम्म छलफल गरे पनि प्रधानमन्त्रीबारे सहमति जुट्न सकेन।

तर त्यसअघि भने प्रधानमन्त्री शेरबहादुर देउवाले कां‍ग्रेसका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका छन्। माओवादी केन्द्रसँग प्रधानमन्त्रीका लागि सहमति नजुटेपछि अन्तिम बैठक बस्नुअघि छलफलका लागि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन्।

अहिलेसम्म कांग्रेसले नै सरकार गठनका लागि पहल थालिरहेको छ। तर गठबन्धनमा प्रधानमन्त्रीबारे सहमति जुटेको छैन। विशेषगरी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गर्दा सहमति जुट्न नसकेको हो।

यता गठबन्धन टुटेमा सरकार निर्माणका लागि पहल थाल्ने एमालेले पनि तयारी गरिहेको छ। माओवादी केन्द्रले गठबन्धन छाडेमा सरकारमा सहभागी हुनसक्ने एमालेले संकेत गरेको छ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार अपरान्ह ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment