बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

१३ जेठ, काठमाडाैं । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल छ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ ।

बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्य सम्पन्न भइसकेको छ ।

शर्माले वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) कार्य भइरहेको भन्दै उक्त जीपलाइन विश्वकै लामो निर्माण हुने दाबी गरे । ईआइए कार्य पश्चात् निर्माणले गति लिने उनले बताए ।बन्दिपुर–४ को केबलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५\२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माले जानकारी दिए । उनले भने,“बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।”

अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्राङ्गणमा ८५ मिटर दूरीको स्काइ साइक्लिङिग निर्माण सम्पन्न भइसकेको छ । निर्माणधीन जीपलाइन र साइक्लिङिग एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए । टुरिजमले बन्दीपुर–४ केबलकार चोकस्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिए । “टुरिजमले केबलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ । उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्”, उनले भने ।

केबलकारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्म एक हजार सात सय मिटर दूरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुङ्गिनेछ । समुद्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूलपरिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment