गिरिबन्धु टि–इस्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

१४ जेठ, काठमाडौं । गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिले नेकपा एमालेका नेताहरु रुष्ट भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा सहितको छलफलमा एमालेले यो विषयमा आपत्ति जनाउँदै लिखित रुपमा माफी माग्नुपर्ने बताएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । एमालेलाई शर्माले भनेका थिए, ‘रविलाई साथ दिएर गिरीबन्धुमा रविको साथ लिनु छ ।’

कांग्रेस कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

झापाको गिरिबन्धु टि–इस्टेटको जग्गा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कानुन बनाएर सट्टापट्टा गर्ने बाटो खोलिएको थियो । जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । कांग्रेस महामन्त्री शर्माले सहकारी र गिरीबन्धु टि–स्टेटमा एक अर्काले बचाउन ओली र रविबीच सहमति बनेको टिप्पणी गरेदेखि नै ओली रुष्ट छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लोपटक बसेको बैठकमा पनि ओलीले सोही विषय उठाउँदै आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुलाई बालुवाटार बोलाएर गरेको छलफलमा पनि एमाले नेताहरुले कांग्रेसले अनावश्यक आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्दछ ।’

कांग्रेस नेताहरुलाई एमाले नेताहरुले ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने ? कांग्रेसले चाहेको के हो ?’ भनी प्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए । उनीहरुले कांग्रेसलाई अभिव्यक्ति फिर्ता लिन पनि भनेका थिए ।

शीर्ष नेताहरुको भनिएको छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी थिए ।

छलफल पछि एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले गलत लाञ्छना लगाएको भन्दै त्यसको प्रतिवादमा उत्रिने बताए । ‘यसप्रकारका अभिव्यक्तिबाट नेपाली कांग्रेस पछि हट्दैन भने यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रन्छ,’ पौडेलले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका अभिव्यक्ति र घटनाक्रमले संकेत गरिरहेका छन् । विशेष गरिकन असामयिक, असान्दर्भिक, आधारहीन र पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्न कांग्रेस लागिरहेको छ ।’

पौडेलले थपे, ‘पछिल्लो दिनमा नेकपा एमालेको विरुद्ध र हाम्रो पार्टीका अध्यक्ष विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण लाञ्छनाहरु लगाइरहेका छन् । आधारहीन, प्रतिशोधपूर्ण लाञ्छनाबाट पछि हट्नका निम्ति आग्रह गर्न चाहन्छु ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment