वैदेशिक रोजगारीमा गएका कामदार पनि आज देखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

११ मंसिर, काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई पनि आज देखि सामाजिक सुरक्षा कोषमा जोडिने भएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कोषले आफनो स्थापना दिवसको अवसरमा पारेर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई पनि कोषमा आबद्ध गरिने कार्यक्रमको घोषणा गर्ने भएको हो ।

कामदारलाई कोषमा आबद्ध गर्नका लागि कोषले कार्यविधि निर्माण गरेको छ । कार्यविधि अनुसार कामदारलाई यो कार्यक्रम अनिवार्य गरिनेछ । रोजगारीमा जाने कामदारले कोषमा आबद्ध भए पछि एउटा कोड नम्बर पाउँनेछन् । सोही नम्बर पेश गरे पनि मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाउँनेछन् । यस अघि विभागले वैदेशिक रोजगारी म्यादी जीवन बीमा योजनालाई पनि यसरी नै अनिवार्य गरेको थियो ।

कार्यविधि अनुसार कामदारले मासिक, अद्र्यबार्षिक वा बार्षिक रुपमा कोषमा योगदान रकम जम्मा गर्न सक्नेछन् । यसका लागि कोषमा दुई वटा विकल्प राखिदिएको छ । कामदारले ७०० वा २००० रुपैयाँसम्म कोषमा योगदान गर्न सक्नेछन् । तर, कोषले कामदारलाई भने सिमित सुविधा प्रदान गर्नेछ । कामदारले चाहेमा अतिरिक्त रकम थप गरी सुविधा पनि थप गर्न सक्नेछन् । यो सुविधा कामदारको श्रम अवधिभर लागू हुनेछ । यदि कामदारले श्रम स्वीकृति नविरकण गरेको अवस्थामा कोषमा आबद्ध हुने प्रक्रियामा पनि नविकरण गर्न सक्नेछन् । यो सबै प्रक्रिया अनलाईनबाट नै गर्न सकिने कोषले जनाएको छ ।

कोषमा आबद्ध भएका कामदार दुर्घटनामा परी अशक्तता भएमा अशक्तताको प्रतिशतका आधारमा नेपाल सरकारले तोकेको श्रमिकको न्यूनत्तम तलबमानको ४० प्रतिशत हुन आउने रकम कामदारलाई आजीवन मासिक भुक्तानी गर्नेछ । हालको व्यवस्था अनुसार सरकारले श्रमिकको न्यूनत्तम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । तसर्थ अहिलेको व्यवस्थामा यस्तो सुविधा अन्र्तगत कामदारे मासिक ६ हजार रुपैयाँ भुक्तानी पाउनेछन् ।

त्यस्तै, दुर्घटनामा परी कामदारको मृत्यू भएमा परिवारले आजीवन नेपाल सरकारले तोकेको न्यूनत्तम तलबमानको ४० प्रतिशतले हुन आउने रकम मासिक भुक्तानी पाउनेछन् । त्यस्तै, २१ बर्ष नपुगेका दुईवटासम्म छोराछोरीले न्यूनत्तम पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम छात्रवृति स्वरुप मासिक रुपमा पाउनेछन् ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका कामदारमात्र कोषमा आबद्ध हुनका लागि योग्य हुनेछन् । कामदारले सुविधा भोग गर्नका लागि कम्तिमा १२ महिना निरन्तर योगदान गरेको हुनुपर्नेछ । सरकारले श्रमिक न्यूनत्तम पारिश्रमिक वृद्धि गरेसँगै कोषले भुक्तानी गर्ने रकम पनि वृद्धि हुनेछ ।

त्यस्तै, कामदार नेपाल फर्केपछि व्यक्तिगत रुपमा नै पनि कोषमा आबद्ध हुन सक्नेछन् । यसका लागि कामदारले कोषमा निवेदन दिनुपर्नेछ । मासिक दुई हजार ९०० रुपैयाँ योगदान गरी कामदारले कोषले सञ्चालन गरेका सबै सुविधा उपयोग गर्न सक्नेछन् भने ७०० नै भुक्तानी गरी सिमित सुविधा पनि लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment