बाराही हाइड्रोको वित्तीय अवस्था झनै कमजोर, नेटवर्थ ५४ रुपैयाँ मात्रै– दोस्रो बजारमा ४९९ रुपैयाँमा कारोबार

२४ वैशाख, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड अघिल्लो आवको यसै अवधिको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ५३ रुपैयाँ ८१ पैसामा झरेको छ । गत आवको यसै अवधिमा ६१ रुपैयाँ ८० पैसा रहेको कम्पनीको नेटवर्थ ७ रुपैयाँ ९९ पैसाले घटेको हो ।

वित्तीय अवस्था कमजोर रहेपनि कम्पनीको दोस्रो बजारमा भने तेस्रो त्रैमासको अन्त्यमा कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ । पुँजी कम भएका कारण कारोबारीको चलखेलका कारण कमपनीको मूल्य उच्च रहेको हो । चैत मसान्तसम्ममा हाइड्रोको खुद घाटा ९५ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा १ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट २ करोड ३१ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा २ करोड ३२ लाख ९१ हजार रहेको थियो । तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ८.४१ प्रतिशतले बढेर ८९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले कुल १ करोड ८० लाख २१ हजार रुपैयाँ वित्तीय खर्च भुक्तानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ७९ लाख ३२ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो ।

चुक्ता पुँजी २५ करोड रहेको कम्पनीको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष नोक्सानी ११ करोड ५४ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै वार्षिक प्रति सेयर आम्दानी ३ रुपैयाँ ६२ पैसा ऋणात्मक छ । यस्तै मूल्य आम्दानी अनुपात १३७.८४ गुणा ऋणात्मक छ ।

कम्पनीले निर्माण गरेको ठेउलेखोला जलविद्युत आयोजनाबाट २०७५ असार २४ बाट व्यापारिक उत्पादन गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ । कम्पनीले परिक्षण उत्पादन गरेको मिति २०७५ जेठ ३० देखि २०८१ बैशाख १ गते दिउँसोसम्म कुल ३ करोड १९ लाख २३ हजार ६२०युनिट उत्पादन गरेको छ । आयोजनको वार्षिक करार उर्जाशक्ति ८.२१७ गिगावाट आवर (८२१७६३६ युनिट) छ । कम्पनीबाट उत्पादिन विद्युत पधिरकणले वर्षयाममा ४.७२ रुपैयाँ र हिउँदमा ८.२६ रुपैयाँ छ ।

चालु आवमा कम्पनीले उत्पादन व्यवस्थापनको विश्लेषण गर्दै नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा हुने विच्छेदनलाई न्यूनिकरण गरी अधिकाधिक विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment