जेठदेखि ब्रोकर कमिसन घट्ने

२४ वैशाख, काठमाडौं । जेठदेखि लागू हुनेगरी ब्रोकर कमिसन घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न बाँकी छ ।

सबै सञ्चालकले हस्ताक्षर गरेपछि मात्रै निर्णयले औपचारिकता पाउनेछ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आइतबार बोर्ड बैठकमा ब्रोकर कमिसन घटाउने विषयमा छलफल भएको बताए । ‘सबै सञ्चालकहरुले हस्ताक्षर गरेपछि मात्रै यसबारे निर्णय भएको जानकारीमा आउने हो अहिले मलाई जानकारीमा आइसकेको छैन’ उनले भने । सञ्चालकहरूको अहिले हस्ताक्षर गराउने काम भइरहेको स्रोतले जनाएको छ ।

हाल सेयर कारोबारमा लगानीकर्ताले तिर्दै आएको ब्रोकर कमिसनमा जेठदेखि १० प्रतिशत घट्ने छ । हाल कारोबार रकमको अधिकतम ०.४० प्रतिशतसम्म ब्रोकर कमिसन दर तोकिएको छ । एक पटकमा हुने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्छ ।

अब यसलाई ०.३६ प्रतिशतमा झारिनेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गरिने भएको छ । कारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्ने गरेको छ ।

५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र १ करोडमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । यी सबै दरमा १० प्रतिशत घट्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment