बीमाको दायरामा ४१ प्रतिशत नागरिक

२७ साउन, काठमाडौं । नेपालमा ४१.२० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ सम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशीक रोजगारी

जीवन बीमालेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत पुगेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा २७.५३ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशत बिन्दुले बढेको बीमा समितिको दाबी छ ।

नेपाल सरकारले वैदेशीक रोजगारीमा जानेहरुका लागि अनिवार्य गरेको वैदेशिक रोजगारी जीवन बीमालेख बाहेक नै ३८.२६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको समितिको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो संख्या २५.२३ प्रतिशत मात्रै रहेको थियो ।

बीमा गर्ने नागरीकमध्ये ठूलो संख्या म्यादी बीमाको रहेको समितिको तथ्यांक छ । म्यादी र लघु म्यादी बीमालेख हटाउँदा बीमाको दायरमा रहेको जनसंख्या १६.६२ प्रतिशत रहेको बीमा समितिको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

लगानी अथवा सावधिक बीमा भन्दा मयादी बीमामा नागरिकको आकर्षण उच्च देखिएको बीमा समितिको तथ्यांकले देखाउँछ । म्यादी बीमामा बीमितलाई निश्चित अवधिसम्मका लागि जोखिम बहन गर्ने सुविधा उपलब्ध गराउँछ । यसमा बीमा गर्नेले तिरेको प्रिमियम रकम फिर्ता हुँदैन । तर, बीमितको कुनै दुर्घटना भयो भने उसको परिवारले दाबी भुक्तानी पाउँछ ।

सावधिक अर्थात् लगानी जीवन बीमा योजनामा भने बीमितले तिरको बीमाशुल्का साथै कम्पनीले बीमालेख खरिद गर्नेलाई दिने बोनस रकम समेत थप भएर बीमा अवधि समाप्त भएपछि एकमुष्ट रकम प्राप्त वगर्छ । सार्वधिक बीमा योजना भनेको कए प्रकारको बचत पनि हो । यस्तो बीमा गर्ने नागरिकको संख्या भने तुलनात्मक रुपमा कम रहेको देखिन्छ ।

बीमा कम्पनीकै कर्मचारीहरु भने समितिले दाबी गरेजस्तो ४१ प्रतिशत भन्दा बढी जनसंख्यामा बीमाको पहुँच नपुगेको बताउँछन् । समितिले कुल बीमालेख संख्यामा डुब्लिकेसन भएको बीमालेख संख्या भन्दै पाँच प्रतिशत हटाएर उक्त तथ्यांक तयार पारेको प्रवक्ता पौडेलले बताए ।

तर, बीमा कम्पनीका कर्मचारीहरु भने बीमालेख डुब्लिकसेन संख्या पाँच प्रतिशत भन्दा माथि रहेको बताउँछन् । २०८९ असार मसान्तसम्म कुल जीवन बीमालेख संख्या १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको समितिले जनाएको छ । जसमध्ये डुब्लिकेन भएको ५ प्रतिशत हटाउँदा १ करोड २४ ८९ हजार २०६ बीमालेख पुगेको समितिले जनाएको छ ।

कुल जनसंख्या ३ करोड ३ लाख १२ हजार ४९८ लाख आधार मानेर उक्त तथ्यांक तयार पारिएको समितिले जनाएको छ । स्थानीय तहसम्म बीमा कम्पनीको उपस्थिति पुग्दा बीमा गर्ने नागरिकको संख्या पनि बढेको समितिको प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘समितिले स्थानीय तहसँग मिलेतर जनचेतनामुक कार्यक्रम गरीरहेको छ भने, बीमा कम्पनी पनि गाउँ गाउँसम्म पुगेका छन्,’ उनले भने, ‘बीमा भनेको सुरक्षा हो भन्ने शिक्षा नागरिकमा पनि बढेको छ, जसले एक वर्षमै बीमा गर्नेको संख्या धेरै बढेको हो ।’ बीमा कम्पनीले पछिल्लो समय ल्याएका बीमालेख नेपालीको लागि उपयुक्त रहेकोले पनि बीमा गर्नेको संख्या बढेको उनले बताए ।

१६.४८ प्रतिशतले बढ्यो बीमाशुल्क

बीमा व्यवसायसँगै बीमाको पहुँच पनि बढेको समितिको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीले १ खर्ब ७७ अर्ब ८१ करोड ५ लाख बीमाशुल्क संकलन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६.४८ प्रतिशतले बढेको बीमा समितिले जनाउको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरुले १ खर्ब ५२ अर्बै ६५ करोड बीमाशुल्क संकलन गरेका थिए । बीमाशुल्क वृद्धिमा निर्जीवन बीमा व्यवसायतर्फ राम्रो देखिएको छ । निर्जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३१ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा २३.५६ प्रतिशतले वृद्धि भएर ३९ अर्ब १७ करोड पुगेको समितिले जनाएको छ ।

यता जीवन बीमा व्यवसायतर्फ भने कुल बीमाशुल्क संकलन १ खर्ब २० अर्ब ९५ करोडबाट १४.६३ प्रतिशतले वृद्धि भएर १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख पुगेको छ ।

एक वर्षको अवधीमा जीवन बीमालेख संख्या ८६ लाख १२ हजार ८५० बाट ५२.०९ प्रतिशतले वृद्धि भएर बढेर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको हो । जसमध्ये सावधिक बीमालेख ५३ लाख १ हजार ५६७ रहेको छ । त्यस्तै म्यादी तथा लघुम्यादी बीमालेख संख्या ६९ लाख ६ हजार ९९५ र वैदेशीक रोजगार बीमालेख संख्या ८ लाख ९१ हजार ११३ पुगेको समितिले जनाएको छ ।

यस्तै निर्जीवन बीमालेख संख्या भने २.०६ प्रतिशतले मात्रै बढेको छ । बीमा समितिका अनुसार २०७८ असार मसान्तमा २७ लाख ३१ हजार ७७३ रहेको निर्जीवन बीमालेख २०७९ असार मसान्तमा बढेर २७ लाख ८८ हजार ०१८ पुगेको छ । निर्जीवन बीमालेख सामान्यतय एक वर्ष अवधिको हुन्छ भने हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ ।

बीमा कम्पनीमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या एक वर्षमा १०.३१ प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ । २०७८ असार मसान्तसम्म १० हजार ७५२ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा २०७९ असार मसान्तमा आउँदा ११०० भन्दा बढीले थप रोजगारी पाएका छन् । यस्तै बीमा कम्पनीको कार्यालय संख्या २ हजार ९३३ बाट बढेर ३ हजार ३३६ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment