ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्

१८ जेठ, एजेन्सी । विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै नाम फिर्ता लिने निर्णय गरेकी हुन् ।

२३ वर्षीय ओसाकाले प्रतियोगिता सुरु हुनुअघि नै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार सम्मेलनमा उपस्थित नहुने बताएकी थिइन् । सन् २०१८ मा पहिलो ग्राण्डस्लाम उपाधि जितेकी उनी लामो समयदेखि डिप्रेसनसँग संघर्ष गर्दै आइरहेकी छिन् । उनले प्रतियोगिताबाट नाम फिर्ता लिँदै आफू बाधा बन्न नचाहेको जानकारी दिइन् ।

ओसाकाले आइतबार प्रतियोगिताको पहिलो खेलमा रोमानियाकी प्याट्रीसिया मारिया टिगलाई सोझो सेटमा पराजित गरेकी थिइन् । उनलाई खेलपछि पत्रकार सम्मेलनमा उपस्थित नहुँदा प्रतियोगिताको नियम अनुसार १५ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो ।

आइतबार नै आयोजक समितिले विज्ञप्ति जारी गर्दै ओसाकाले आगामी खेलमा पनि पत्रकार सम्मेलनमा उपस्थित नभए प्रतियोगिताबाट नै बाहिरिनु पर्ने अवस्था आउन सक्ने जनाएका थिए । ओसाकाले सोमबार आफैं केहि समय कोर्टबाट बाहिर रहने भन्दै नाम फिर्ता लिने निर्णय सुनाएकी हुन् ।

ओसाकाले आफूले अपेक्षा नै नगरेको अवस्था आएपछि नाम फिर्ता लिएको प्रष्ट पारेकी छिन् । फ्रेन्स टेनिस महासंघका अध्यक्ष गिल्लेस मोरेटोनले उनको यो निर्णयलाई दुर्भाग्यको संज्ञा दिँदै ओसाकाको स्वास्थ्य लाभको कामना गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarJapanLockdownnepalNewsOsikaPoliticQuarantinesports
Comments (0)
Add Comment