युएई पहिलो श्रम गन्तव्य, मंसिरमा मात्रै १८ हजार बढीले लिए श्रम स्वीकृति

०७ पुस, काठमाडौं । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा युएई पहिलो श्रम गन्तव्य देश बनेको हो । विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार चालु आव २०८०/८१ को पहिला पाँच महिनामा रोजगारीका लागि बिदेसिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन् । मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार चालु आवका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दामाथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँ, तिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो ।

गत आव २०७९/८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५६४ थियो । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने सङ्केत देखिएको छ । चालु वर्षको मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई लाख ७७ हजार पुगेको छ । गत आवको मङ्सिरसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख २४ हजार २४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औसतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment