जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

२७ माघ, काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।

सामान्य कच्ची घरमा उहाँ अहिले बस्दै आउनुभएको छ । तर चिटिक्क परेको सानो पक्की घर भने उहाँले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गर्नुभएको हो । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान (चिहान) भन्ने गरेका छन् । लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ । चार छोरी र एक छोरा रहेका मनप्रसाद आफ्नी ७३ वर्षीया पत्नी शुकरानी इवाहाङसँग रहँदै आउनुभएको छ । उहाँले कपुरथान पतिपत्नी दुवै जना अट्ने गरी दुई कोठा भएको निर्माण गर्नुभएको छ ।

पाँच वर्षअघि नै करिब एक लाख रुपियाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर कपुरथान निर्माण गर्नुभएको हो । कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ । खाली भागमा मनप्रसाद र शुकरानीको निधनपछि पार्थिव शरीर राखिने छ । इवाहाङ दम्पतीका पाँच छोराछोरीमध्ये अहिले कोही पनि साथमा हुनुहुन्न । उहाँहरूले सबै बाहिर रहेकाले मृत्युअघि नै कपुरथान निर्माण गरिएको बताउनुभयो । “छोराछोरी सबै बाहिरै छन्, मरेपछि कहिले आउलान्, कसो गर्लान्, कहाँ राख्लान् ? अहिले नै निर्माण गरिदिए त मृत्युपछि दुई चार जना गाउँले भेला भएर कपुरथानमा लगेर हालिदिन सक्छन् नि । त्यसैले पहिले नै बनाएका हौँ,” मनप्रसादले भन्नुभयो ।

सोही स्थानका स्वर्गीय नैनकुमार तुम्बापोले पनि आफू र पत्नीका लागि केही वर्षअघि दुई कोठाको आकर्षक कपुरथान निर्माण गर्नुभएको थियो । तर उहाँले निर्माण गरेको दुई कोठे कपुरथानको एउटा कोठो खुला छ भने अर्को कोठो सधैँका लागि बन्द भइसकेको छ । पाँच महिनाअघि मृत्यु भएका नैनकुमारको शवलाई कपुरथानको एक कोठामा राखिएको छ । पत्नीका लागि निर्माण गरिएको कोठो भने खुला छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment