मलेसियाले सुरु ग-यो अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम

१८ फागुन, एजेन्सी । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि शुक्रबारबाट घरफिर्ती कार्यक्रम सुरु गरेको छ । मलेसियाले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घरफिर्ती कार्यक्रम गर्न लागेको हो ।

माइग्रेसन प्रिपरेसन प्रोग्रामअन्तर्गत बढीमा ५ सय मलेसियन रिंगिट जरिमाना तिरेर घर फर्किन पाउने त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव बलिरामप्रसाद धामी र श्रमसहचारी दिलीप खड्काले फेसबुक लाइभमार्फत जानकारी दिएका छन् ।सो कार्यक्रमअन्तर्गत मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे)को हकमा ५ सय मलेसियन रिंगिट जरिमाना र भिसाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिंगिट जरिमाना तिरेर फर्किनसक्ने सचिव धामीले बताए । अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन ।

यसका लागि घर फर्कन चाहने नेपालीले दाजुभाइ तथा दिदीबहिनीहरू स्वयं सो कार्यक्रममा आबद्ध हुने प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए । वैधानिक कागजात नभए तापनि जरिमाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने र त्यसका लागि सरल प्रक्रिया अपनाउनुपर्नेछ ।

वैध राहदानी वा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का लागि नेपाली दूतावासमा आवेदन दिनुपर्नेछ । निवेदन दिने दिनदेखि १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने । मलेसियन रिंगेट ३ सय अथवा ५ सय जरिमाना पनि तिर्नुपर्नेछ ।

मलेसियाको अध्यागमन विभागलाई जरिमाना रकम क्यासमा तिर्न नमिल्ने, डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिने अथवा ‘टज एन गो ई वालेट’मार्फत पिन नम्बर लिई तिर्न सकिने दूतावासले जनाएको छ । मलेसियाको अध्यागमन विभागले तोकेका १४ वटा स्थानमध्ये आफूलाई पायक पर्ने कुनै एक स्थानमा गई आवेदन दर्ता गर्न सकिने पनि दूतावासले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment