मानव तस्करको जालोमा परेर धमाधम बेचिँदै नेपाली महिला

२७ माघ, काठमाडौं । लोक गायिका कालिका रोक्काले भनेजस्तै भएको छ, दैलेखकी कल्पना बुढालाई । वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधा दिने सपना साँचेर धेरै नेपाली चेली बिदेसिएका छन् । यस्तैमध्येकी एक हुन् उनी । करिब ६ महिनाअघि राम्रो कमाइ हुने प्रलोभनमा परेर दलालमार्फत् कुवेत पुगेकी उनलाई धेरै पछि मात्र थाहा भयो, आफू एक कुवेती नागरिकको घरमा बेचिएको कुरा । उनलाई अनु गिरी नाम गरेकी एजेन्टले कुवेतमा लगेर ९ सय ५० कुवेती दिनारमा बेचेकी थिइन् ।

मारेकी छु अब मैले घर आउने आश
कुन दिनमा आउँछ मेरो बाकसभित्र लास ।
बाउआमालाई हुनेभयो बाँचुन्जेल पीर
सम्झिँदा नि भएको छ मुटु चीरा चीर ।।

उनले एक भिडियो सार्वजनिक गर्दै आफू कुवेतमा बेचिएको भन्दै उद्धारको आग्रह गरेकी छन् । ‘मलाई यहाँ कुवेतमा दलालले बेचेको छ, मलाई गैरकानुनी बाटो हुँदै घरको काममा पठायो, पहिलो घरमा काम गर्दा पनि घर मलिकले छातीमा कुट्यो,’ उनले भनेकी छन्, ‘अनि अहिले अर्को घरमा काम गर्न पठाएको छ, यहाँ आएदेखि खान पाएको छैन, खाना खान नपाएको पनि आठ दिन भइसक्यो, खाना पनि खान नदिई काम मात्र लगाउँछ, हरेक दिन रातिको २÷३ बजेसम्म काम गर्नुपर्छ, शारीरिक तथा मानसिक यातना सहेर बाँचेकी छु, मलाई छिटो उद्धार गर्नुहोस् ।’राति ३ बजेसम्म काम गरेर सुत्न जाँदा पनि बिहान ५ बजे नै उठ्नुपर्ने र केही नखाइ काम गर्नुपर्ने हुँदा दिन प्रतिदिन आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनले बताएकी छन् ।

‘म यहाँ एउटा ठूलो सपना बोकेर आएकी थिएँ, मेरो बाबाको एउटा खुट्टा छैन, म केही कमाएर बाबाको कृत्रिम खुट्टा हालिदिनुप¥यो भनेर यहाँ आएकी थिएँ, तर दलालको फन्दामा पर्दा म बेचिएँ, मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, म यो कालको कोठीबाट निस्किन चाहन्छु,’ उनले रुँदै सार्वजनिक गरेको भिडियोमा भनिएको छ, ‘मलाई नेपाल झिकाइदिनुहोस्, मेरो बाबाको खुट्टा छैन, मैले भाइबहिनी पनि पढाउनु छ, एजेन्ट वा अफिसमा फोन गर्दा ४ लाख रुपैयाँ दिए मात्र नेपाल फर्किन पाउँछेस् भन्छ, मजस्तो गरिबले कहाँबाट ल्याउने त्यत्रो पैसा ?’

कुवेतमा रहेको एजेन्टले ४ लाख रुपैयाँ नदिए घर पठाउन नसक्ने र मरेपछि शव नेपाल पठाइदिने धम्की दिएको बुढाले बताएकी छन् । ‘नेपालबाट पठाउने एजेन्ट अनु गिरीलाई सम्पर्क गर्दा १ लाख १० हजार भारतीय रुपैयाँ दिए मात्र नेपाल फर्काउँछु, नत्र फर्काउँदिन’ भनेको उनको भनाइ छ । बुढाले नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास, देश–विदेशमा रहने सम्पूर्णलाई आफू जिउँदै नेपाल फर्कन चाहेको भन्दै सबैलाई सहयोग गरीदिन पनि अनुरोध गरेकी छन् ।आजको राजधानी दैनिकमा यो समाचार छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment