एशियन फारमास्युटीकल्सको ९ महिनाको आम्दानी साढे १ अर्ब

२३ जेठ, काठमाडाैं । आर्थिक वर्ष २०२३/२४ को ९ महिनामा एशियन फारमास्युटिकल्सले १ अर्ब ४० करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

गत आवमा १ अर्ब ६७ करोड आम्दानी गरेको कम्पनीको चालु पुँजीमा भएको वृद्धिका कारण चालु आवको आम्दानी प्रभावित बनेको छ । तथापि कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा चालु आवको ९ महिनामा कुल सञ्चालन आम्दानीको १४.१ प्रतिशत रहेको छ । जुन गत आवमा १३.९ प्रतिशत थियो ।

सन् १९९७ मा स्थापना भएको फारमास्युटिकल कम्पनीले एन्टीबायोटिक, ग्यास्ट्रोइन्टेस्टाइनल, एन्टि–एर्लजिक, एन्टि–पाइरेटिक, एन्टि–इन्फ्लामेटोरी, भाइटामिन र भेटेरिनरी ड्रग्स लगायतका विविध औषधीहरुको उत्पादन गर्दै आएको छ ।

कम्पनीले ललितपुरको महालक्ष्मीमा प्लान्टको निर्माण गरी सन २०२१ बाट औषधी उत्पादन सुरु गरेको हो । काठमाडौँ सहरमा अस्पतालहरुको संख्या उच्च रहँदा कम्पनीलाई फाइदा पुगेको छ । उपत्यकामा मात्रै देशभरका ५० प्रतिशत भन्दा धेरै अस्पतालहरु रहेका छन । उपत्यका क्षेत्रमा देशका अरु ठाउँहरुको तुलनामा मानिसहरुको बाक्लो उपस्थिति रहँदा पनि कम्पनीलाई सहजता भएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट र सीरप गरी चार प्रकारमा औषधी उत्पादन गर्दै आएको छ ।

पछिल्लो समयमा औषधी उत्पादक कम्पनीहरु बीचमा बढ्दै गएको प्रतिष्पर्धा, आयातीत औषधीमा पाउँदै आएको अनुदानका कारण कम्पनीको आम्दानी प्रभावित बनेको छ । तथापि कम्पनी लामो समयदेखि सञ्चालनमा आएको र बजारमा राम्रो उपस्थिति रहेका आगामी समयमा कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।

औषधी उत्पादन तथा बिक्री वितरणमा लामो समय बिताएका हुतान्नद खनाल कम्पनीका अध्यक्ष रहेका छन् भने कार्यकारी निर्देशक शङ्कर घिमिरे रहेका छन् ।

कम्पनीमा २१ सेयर होल्डरहरुको लगानी रहेको छ । खगिश्वरा घिमिरेको कम्पनीमा सर्वाधिक सेयर हिस्सा १०.३ प्रतिशत रहेको छ ।

कम्पनीले ८४ करोड ७८ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ३८ करोड ५८ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र ४६ करोड २० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल सञ्चालन आम्दानीको २.९ गुणा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment