प्लाष्टिक लिएर सुनको सिक्का दिने वातावरण संरक्षणको अनौठो प्रयास

३० चैत्र, अनन्तनाग (काश्मिर), एजेन्सी । दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लाष्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गर्नुभएको छ । ‘प्लाष्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लाष्टिकको फोहोर संकलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गर्नुभएको हो ।

अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गर्नुभएको हो ।

प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उप आयुक्त डा. बशारत कयुमसँग यससम्बन्धमा विचारविमर्श गर्नुभएको थियो । उहाँले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमबीच गत जनवरी ७ देखि ‘प्लाष्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।

अभियान सुरु भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगत रूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका सदस्य, ज्येष्ठ नागरिक, सिँचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवकहरू संलग्न गराउनुभएको छ । अभियानले सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित गरेको छ । फोहर प्लाष्टिक संकलन गर्न संकलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ ।

अधिवक्ता गनाइको प्रयासलाई वातावरणविद्हरूले व्यापक रूपमा प्रशंसा गरेका छन् । उनीहरूले प्लाष्टिकजन्य फोहोर संकलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन् । अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन्भने अन्य पञ्चायतहरूले पनि त्यसलाई अपनाएका छन् ।

सदिवारा क्षेत्रका स्थानीयहरू पनि स्वेच्छिक रूपमा अभियानमा संलग्न भएका छन् । यहाँ अझ रोचक पक्ष के छ भने वातावरण मैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आउनुभएका उहाँले प्रयोग गरिएको ‘डाइपर’लाई कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन् ।

सदिवारा क्षेत्रका सडक, गल्ली, खोला प्लाष्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ । गनाईको प्रयासले स्थानीय जनतामा प्लाष्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ । उहाँले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कश्मीरदेखि कन्याकुमारीसम्म पुर्‍याउने योजना बनाउनुभएको छ । सबै गाउँका लागि उदाहरण बनेको उहाँको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment