चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक ह्वात्तै बढे , स्थानीय उत्साहित

१९ असाेज, लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो लागेको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्ग खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको हो । यतिबेला पदमार्ग घुम्नका लागि विदेशी पर्यटक धमाधम आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएका छन् । अक्टोबर १ देखि अक्टोबर ४ सोमबारसम्म मात्रै पदमार्गमा ८५ जना पर्यटक आएको एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो ।

उहाँका अनुसार अक्टोबर ३ आइतबार मात्रै ५९ जना मनाङ भित्रिएका छन् । इजरायलका ४२ जना र फ्रान्सका एक जना गरी ४३ जना (सात जना अपांगता भएका सहित) ठूलो समूह अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङमा पुगेका छन् ।

यस्तै, धारापानी चेकजाँच केन्द्रबाट १६ जना विदेशी पर्यटक इन्ट्री भएका छन् । मनाङ गाउँ पुगेका पर्यटक याकखर्क पुगेर बस्ने छन् । हेलिकप्टर चार्टर गरेर हुम्डे आएका उनीहरु अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तीनाथ जोमसोमसम्म जाने छन् ।

सोमबार मात्रै २६ जना विदेशी पर्यटक धारापानी पर्यटक चेकजाँच केन्द्रमा इन्ट्री भएका छन् । एक्याप मनाङका अनुसार अक्टोबरको सुरुवातमा नै पर्यटक आगमन बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना संक्रमणका कारण सुस्ताएको व्यवसाय पुनः मौलाउने आशा गरेका छन् । एक्यापका अनुसार सेप्टेम्बर महिनामा ७६ जना विदेशी पर्यटक मनाङ प्रवेश गरेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुङ्ग्याउने गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19digital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment