सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने, विश्व बैंकबाट १३ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

२२ बैशाख, काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन्।

बैठकले ६ जना राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ भने भारतमा भइरहेको निर्वाचनको अवलोकनका लागि निर्वाचन आयोगका प्रमुख दिनेश थपलीयालाई स्वीकृत प्रदान गरेको प्रवक्ता शर्माले बताइन्।

बैठकले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर करिव १३ अर्ब ३३ करोड रुपैया बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ भने नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायीक सहयोगको क्षेत्रमा सम्पन्न हुने सहझादारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिती गठन आदेश २०५८ खारेज गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरिएको छ।

यस्तै सरकारले यही वैशाख २८ गते सङ्घीय संदसका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन, ‘‘वैशाख २८ गते शुक्रबारका दिउँसो २ बजे सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment