हलिउडका फिल्ममा ४० प्रतिशतले घट्दै यौनदृश्य

२२ बैशाख, काठमाडौ। हलिउडले बनाएका ठूलो पर्दाका फिल्महरूमा यौनका दृश्यहरू घट्दै गइरहेको एउटा अध्ययनले देखाएको छ । सन् २००० ताका रिलिज भएका फिल्महरूको तुलनामा सन् २०२३ मा रिलिज भएका मुख्यधाराका मुख्य चलचित्ररूमा यौनदृश्य ४० प्रतिशतले घटेको अध्ययनले देखाएको हो ।

सन् २००० यता रिलिज भएका २५० ठूला हिट मानिएका फिल्महरूको अध्ययन गर्दा यो पाटो सार्वजनिक भएको हो ।

खासगरी एक्सन प्रधान फिल्महरूमा यौनका दृश्यहरू पूरै हटेर गएको र ७० प्रतिशतले कमी आएको देखिएको छ । इकोनमिस्टका डेटा विश्लेषक स्टेफन फोलोसले गरेको अध्ययनमा यस्तो फरकपना देखिएको हो ।

तर रोमान्टिक फिल्महरूमा भने यौनदृश्य उति धेरै घटेको भने पाइएन । तिनमा जम्मा २० प्रतिशत मात्र घटेको छ । त्यसै पनि रोमान्टिक फिल्मले यौनजन्य दृश्यको माग गर्ने हुनाले अन्य विधाका फिल्मको तुलनामा यसमा नघटेको हुनसक्ने स्टेफन बताउँछन् ।

कुनै पनि यौनदृश्य नराखिएका फिल्महरूले गज्जबकै व्यापार गर्न थालेको छ । सन् २००० मा त्यस्ता हिट फिल्मको प्रतिशत १८ थियो भने सन् २०२३ मा आइपुग्दा ४६ प्रतिशत रहेको बताइएको छ ।

यसरी उदेक तरिकाले कम यौनदृश्य हुन थाल्नु भनेको आश्चर्यकै अवस्था रहेको स्टेफन बताउँछन् । यसरी यौनदृश्य कम फिल्ममा सीमित हुनु दर्शकको स्वादमा परिवर्तन आएको रूपमा लिइएको छ ।

पछिल्लो समय पुअर थिङ्स फिल्ममा रहेको यौनदृश्यको निकै चर्को आलोचना भएको थियो । रोचक त के छ भने, फिल्मका दृश्यमा यौन मात्र घटेको हो । अन्य आमाचकारी गाली र कसमहरू भने पहिलेको तुलनामा यसरी घटेको छैन ।

यौनकै दृश्य राख्नु पर्दा पनि कतिपय फिल्ममेकरहरूले यौनिक दृश्यहरूको बदलामा अन्य उपाय अपनाएको पाइएको छ । या, त्यस्ता दृश्यलाई सहज प्रस्तुति बनाइएको छ ।

खासगरी यौनदृश्य भएका फिल्महरू वयस्कका लागि मात्र तोकिने भएकाले र यसले दर्शक संख्या तुलनात्मक रूपमा निकै कम हुने भएकाले निर्माताहरूले यौनदृश्यलाई कम गर्न थालेको देखिन्छ ।

पछिल्लो समय यौनदृश्य खिच्ने बेलामा इन्टिमेसी कोअर्डिनेटर अनिवार्य रूपमा राख्नुपर्ने नियम रहेका कारण पनि त्यो झन्झटको बदलामा दृश्य नै नराख्ने प्रवृत्ति पनि बढेर गएको देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment