दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत !

१५ चैत, काठमाडौं । हलिउड नायक बिन डिजेलले बलिउड नायिका दीपिका पादुकोणलाई फेरि सम्झिएका छन् । उनले इन्टाग्राममा दीपिकाको निमन्त्रणामा भारत आउँदा खिचेको फोटो सार्वजनिक गरेपछि यो विषयले चर्चा बटुलेको छ ।

उनले सन् २०१७ मा भारत भ्रमणको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले दीपिकालाई भारत भ्रमण गर्ने बाचा दिएको थिएँ । मैले सो बाचा पूरा गरेँ ।’

बिन र दीपिकाले सन् २०१७ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज’मा सहकार्य गरेका थिए । बिनका अनुसार सोही बेला दीपिकाले दिएको निम्तो मान्न उनी भारत आएका थिए । उनीसँग फिल्मका निर्देशक डीजे कारुसो पनि आएका थिए ।

बिनले दीपिकालाई सम्झिएर गरेको पोस्ट चर्चामा आउनु दुई कारण छ । पहिलो कारण उनी दिपिकालाई एक्सन नायिकाका रुपमा मन पराउँछन् । उनी दीपिकाको ‘फ्यान’समेत हुन् । अर्को कारण भने उनले सोही पोस्टमार्फत आगामी फिल्ममा दीपिकासँग सहकार्य गर्न सक्ने संकेत गरेका छन् ।

साथै उनले एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’का निर्देशक डीजे कारुसो अर्को फिल्ममा काम गर्न लागेको समेत जानकारी दिएका छन् । दिदी–भाइको भावनात्मक कथामा आधारित सो स्क्रिप्ट पढेर आफ्नो छोरी रोएको उनले जानकारीसमेत दिए । आफ्नी छोरीले नायिकामा जेनिफर लरेन्स राख्न सुझाव दिएको बताउँदै उनले कुन नायिका राख्दा उचित होला भनेर फ्यानसँग प्रश्न समेत गरेका छन् ।

धेरैले बिनको यो पोस्टलाई आगामी फिल्ममा दीपिकालाई लिन सक्ने संकेत देखाएको रुपमा बुझेका छन् । दीपिका र बिनलाई लिएर फिल्म बनाएका निर्देशककै आगामी प्रोजेक्ट भएकाले पनि यो आशंका सत्य नजिक छ ।

यद्यपि बिन र दीपिका मिल्ने साथी भएकाले उनले सम्झना गरेको मात्रै पनि हुन सक्छ । बिनले फिल्मको नाम भने खुलाएका छैनन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment