अर्जेन्टिनाको पहिलो जित, ब्राजिल बराबरीमा रोकियो

११ साउन, एजेन्सी । टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पार्दा अर्काे खेलमा ब्राजिल बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टमाथि १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनाको जितमा फकुन्डो मेडिनाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिना पहिलो खेलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो । पहिलो जितसँगै समूह ‘सी’ मा अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । गोल अन्तरमा अष्ट्रेलिया अघि छ ।

यही समूहको अर्काे खेलमा स्पेनले अष्ट्रियामाथि १–० कै जित निकाल्यो । स्पेनको जितमा मिकेल ओयरजावालले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । इजिप्ट १ अंक जोडेर पुछारमा छ ।

यस्तै उपाधि दावेदार ब्राजिल र आइभोरी कोस्टले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । १३औं मिनेटमा डगलस लुइस सिधै रातो काडै खाँदै मैदानबाट बाहिरिएपछि पछि ब्राजिल समस्यामा परेको थियो ।

यही समूहको अर्काे खेलमा जर्मनीले साउदी अरेबियामाथि ३–२ को जित निकालेको छ । जर्मनीको यो पहिलो जित हो । जर्मनीको जितमा नादिम एमिरी, राग्नर एचे र फेलिक्स उदोखाईले गोल गरे । साउदीका लागि दुवै गोल सामी अल नाजेइले गरेका थिए । जर्मनी ६६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै समूह ‘डी’ मा ब्राजिल र आइभोरी कोस्टको समान ४ अंक रहेपनि गोल अन्तरमा ब्राजिल शीर्षस्थानमा रहँदा आइभोरीकोस्ट दोस्रोमा रहेको छ । जर्मनी ३ अंकसहित तेस्रो स्थानमा रहँदा साउदीले अंकको खात खोल्न सकेको छैन ।

अन्य नतिजा
फ्रान्सविरुद्ध दक्षिण अफ्रिका (४–३)
जापानविरुद्ध मेक्सिको (२–१)
न्युजिल्यान्डविरुद्ध होन्डुरस (२–३)
रोमानियाविरुद्ध दक्षिण कोरिया (०–४)
अष्ट्रेलियाविरुद्ध स्पेन (०–१)
साउदी अरेवियाविरुद्ध जर्मनी (२–३)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment