ओला इलेक्ट्रिक स्कुटरकाे बुकिङ खुल्ला, २४ घण्टामै १ लाख माथी बुकिङ

०३ साउन, एजेन्सी । भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम गरेको छ । सो अवधिमा १ लाख ओला बुकिङ भएका छन् । यससँगै यो विश्वकै सबैभन्दा छिटो बुकिङ हुने स्कुटर बनेको छ ।

नयाँ ओला इलेक्ट्रिक स्कुटरमा क्लास लिडिङ स्पिड, हाई रेन्ज, सबैभन्दा धेरै बुट स्पेसका साथै एड्भान्स्ड टेक्नोलोजी हुने दावी गरिएको छ । कम्पनीले यसको बिक्रीलाई व्यापक बनाउनका लागि मूल्य पनि किफायती राखिने बताएको छ ।

स्कुटरको मूल्य र फिचर आगामी दिनमा सार्वजनिक हुनेछ ।

भारतमा यो भन्दा पहिले विशेष गरी टीभीएस आईक्युब र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरले चर्चा पाइरहेका छन् ।

टीभीएस आइक्युब

टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर भारतमा १ लाख ८ हजार १२ रुपैयाँ भारु एक्स शोरुममा लन्च भएको छ । सो स्कुटरमा ४.४ केडब्ल्युको शक्तिशाली इलेक्ट्रिक मोटर समावेश गरिएको छ, जसले १४० एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटर ४.२ सेकेण्डमा ४० किलोमिटर प्रति घन्टासम्मको गति प्रदान गर्ने क्षमता रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ ।

सो स्कुटर सिंगल चार्जमा अधिकतम ७५ किलोमिटर प्रदान गर्न सक्छ । स्कुटर कम्पनीको नेक्स्ट जेनेरेसन टीभीएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा आधारित हुनेछ र यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आइक्युब एप समावेश गरिएको छ ।

बजाज चेतक

बजाज चेतक इलेक्ट्रिक स्कुटर भारतमा १ लाख १५ हजार भारुमा लन्च भएको छ । सो स्कुटरमा ३ केडब्ल्युएच व्याट्री प्याक समावेश गरिएको छ, जसले ४.८ केडब्ल्यु क्षमताको मोटरलाई पावर दिन्छ । सो मोटरले १६ एनएमको टर्क र ६.४४ बीएचपीको अधिकतम पावर जेनेरेट गर्छ ।

कम्पनीका अनुसार बजाज चेतक इलेक्ट्रिक स्कुटर इको मोडमा ९५ किलोमिटर र स्पोर्ट मोडमा ८५ किलोमिटर रेन्ज दिने क्षमता रहेको छ । सो स्कुटरमा सामान्य ५ए पावर सकेट मार्फत फुल चार्ज गर्नका लागि ५ घन्टाको समय लाग्छ भने १ घण्टामा २५ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment