पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

२५ असार, एजेन्सी । इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । दोस्रो रोजाईका खेलाडी सम्मिलित इंग्ल्यान्डले सहज जितका साथ तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका ओपनर डेविड मलान ६९ बलमा ८ चौका सहित ६८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान ज्याक क्रली ५० बलमा ७ चौका सहित ५८ रनमा अविजित रहे । क्रलीले ४४ बलमा अर्धशतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि क्रली र मलानले १ सय २० रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । डेब्यू गरेका ओपनर फिलिप साल्ट ७ रनमा क्याच आउट भए । पाकिस्तान शाहिन शाह अफ्रिदीले एक विकेट लिए ।

त्यसअघि कार्डिफमा टस हारेर ब्याटिङ थालेको पाकिस्तान ३५.२ ओभरमा १ सय ४१ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओपनर फखर जमानले ६७ बलमा ६ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए । पाकिस्तानका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानले सुरुवाती तीन बलमै प्रमुख दुई ब्याट्सम्यान गुमाएको थियो । तीव्र गतिका बलर सकिब मोहम्मदको पहिलो ओभरको पहिलो बलमै ओपनर इमाम उल हक एलबिडब्लू आउटको शिकार बन्न पुगे । एक बलपछि कप्तान बाबर आजम आउटसाइट एज लागेर सेकेन्ड स्लिपमा ज्याक क्रलीबाट क्याच आउट हुँदा पाकिस्तानको खातामा रन थिएन ।

चौथो ओभरको दोस्रो बलमा मोहम्मद रिजवान क्याच आउट हुँदा पाकिस्तान १७–३ को अवस्थामा पुगेको थियो । तीव्र गतिका बलर लुईस ग्रेगरीको बलमा रिजवान एज लागेर विकेटकिपर जोन सिम्प्सनबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । सातौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका साउद शहिल पाँच रनमा एलबिडब्लू आउट हुँदा पाकिस्तान २६–४ को दययिन अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि जमान र सोहिब मकसूदले ५३ रनको साझेदारी गर्दै पाकिस्तानको सम्भावना देखाएका थिए । तर १९ औं ओभरको तेस्रो बलमा मकसूद १९ रनमा रन आउट भएपछि पाकिस्तानको मध्यम योगफलको सम्भावना पनि टाढिएको थियो । मकसूदले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे । स्पिनर म्याट पार्किसनको २२ औं ओभरको पाँचौं बलमा जमान प्वाइन्टमा समातिएपछि पाकिस्तानको झिनो आशा पनि सकिएको थियो ।

फहिम अशरफ पाँच र हसन अली ६ रनमा आउट भए । शादब खान ४३ बलमा १ छक्का सहित ३० रनमा क्याच आउट भए । शाहिन अफ्रिदी अन्तिम विकेटका रुपमा १२ रनमा क्याच आउट हुनपुगे । इंग्ल्यान्डका तीव्र गतिका बलर सकिब मोहम्मदले १० ओभरमा १ मेडन सहित ४२ रन खर्चेर ४ विकेट लिए । स्पिनर म्याट पार्किसनले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रेग ओभरटनले ६.२ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । लुइस ग्रेगरीको नाममा एक विकेट रह्यो । दोस्रो खेल शनिबार हुने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment