अझै केही दिन भारी बर्षा हुने, बाढी पहिरोको सम्भावना भएकाले सतर्क रहन आग्रह

कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

२४ असार, काठमाडौं । अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ। विभागले बिहीबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। औषतभन्दा बढी बर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना भएकाले सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार तमोर नदी मुलघाट, धनकुटा, सुनसरी र सप्तरी, बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्र, तमोर नदीको माझिटारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्म सतर्क रहन विभागले आग्रह गरेको छ। विभागले नवलपुर जिल्लाको अरुङग र आसपासको क्षेत्र, सुर्खेतको खानीखोला र आसपास, तनहुँको बिमलनगर, बन्दीपुर र आसपास, चितवनको छरछरेमा भारी बर्षा भएको डुबान हुने क्षेत्रमा सतर्क रहन अनुरोध गरेको छ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम?

बाढी पूर्वानुमान महाशाखाले आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको, सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा वहाव बढ्दो क्रममा रहेको जनाएको छ। नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मुलघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।

बिहीबार कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने, कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, माङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ।

आज पश्चिम राप्ती, बबई लगायतमा बहाब केही बढ्ने, कन्काई, कमला, बागमती,पुर्वी राप्ती, तिनाउ र यीनका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सोलुखम्बु, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा,सप्तरी, सिराहा, महोत्तरी, बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, रसुवा, गण्डकी प्रदेशको तनहुँ, लमजुङ,कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, मनाङ, मुस्ताङ, लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, कपिलवस्तु,दाङ, रोल्पा, रुपन्देही, बाँके, बर्दिया, कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको डोटी, दार्चुला,डडेल्धुरा,बझाङ,बाजुरा,अछाम,कञ्चनपुर, कैलाली र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment