कालीकोटमा आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु

१७ वैशाख, कालीकोट । कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आर्थिक वर्षको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कालीकोट आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने जिल्लामा परेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा ८ जना, सल्यानमा ७, सुर्खेत र जुम्लामा ६/६ जना, दैलेखमा ५, मुगुमा ४, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा २/२ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

कालीकोटमा २०७७/७८, ०७८/०७९, ०७९/८०, र चालु आर्थिक वर्षको चैत मसान्तसम्म करिब ४५ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ३१ वटा घर जलेर पूर्णरुपमा क्षति हुनका साथै १३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । जिल्लामा हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरेका छन् भने दर्जनौँको संख्यामा घाइते छन् ।

आगोले जंगलमा रहेका बोटबिरुवा जल्नुका साथै मृग, पशुपंक्षी मर्ने गरेको, आगलागीबाट धनजनको क्षति हुँदासम्म नागरिक अझै सचेत नभएको र सरकारले आगलागी गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको अधिवक्ता अम्मल राजले बताए ।

‘पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि संयन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैरजिम्मेवार हुनुले आगलागी पीडितहरु मर्कामा परेका छन्’, उनले भने, ‘वनमा स्थानीयले जानीजानी आगो लगाउने गरेको पाइएको छ । बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनाश हुँदै गएको हो । कानुनी दायरामा नल्याउँदा आगलागीका घटना बढ्दै गएका छन् ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment