इटालीको विजयी सुरुवात

२९ जेठ, एजेन्सी । युरोपेली च्याम्पियनसिपको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । इटालीले ३-० को जित दर्ता गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

इटालीले खेलको पहिलो हाफदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको थियो । तर टर्कीले रक्षात्मक रुपमा बलियो प्रस्तुति गर्दै इटालीलाई अघि बढ्न दिएन । दोस्रो हाफको सुरुवातमा आत्मघाती गोलको सहायताले इटाली अघि बढेको थियो । ५३ औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो ।

६६ औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । लिओनार्डो स्पिनाज्जोलाको प्रहार गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डलाई इम्मोबिलेले गोल गर्दै जित पक्का गरे । ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३-० ले अघि बढाए । उनले इम्मोबिलेको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै गोल गरेका थिए ।

इटालीले आफ्नो उच्च लय कायम गर्दै लगातार ९ खेल गोल नखाएर जित हासिल गरेको हो । समग्रमा इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेल पुर्याएको छ । इटालीले युरो कपको इतिहासमा एकै खेलमा तीन गोल गरेको यो नै पहिलो अवसर समेत हो ।

यस जितसँगै इटालीले समूह ए मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्यान्डले खेल्नेछन् । उक्त खेल नेपाली समयानुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।



मल्टिमिडिया ग्यालरी

digital khabarEURO 2020footballItalysports
Comments (0)
Add Comment