दुःखीको सहयोगमा खड्काको सक्रिएता

०४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।

समस्यमा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा ‘‘सबैका लागि हामी’’ भन्ने अभियान नै सञ्चालन गरेका छन् । व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै अभियान सञ्चालन गर्न सम्भव भएको खड्काले बताए । यो अभियानमा धतुरे नामले चिनिने कलाकार सीपी पुडासैनीलगायतको पनि संलग्नता छ ।

यहि अभियानअन्तर्गत मंगलबार खड्काले गोकर्णेश्वर नगरपालिका ८ का फरक क्षमता (अपाङगता) भएका भीम भुजेलको परिवारलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप प्रदान गरी सहयोग गरे । उनले भीमलाई ५७ हजार ६ सय रुपैयाँ नगद तथा १ बोरा चामल, दाल, नुन, तेल र तरकारी प्रदान गरे । भीमका भाइ पनि फरक क्षमता भएका हुन् भने ८० वर्षीया आमा पनि विरामी छिन् ।

यसअघि खड्काले दोलखा घर भइ हाल खसीबजार (बागबजार) मा डेरा गरी बस्दै आएका डिल्लीबहादुर कार्कीलाई उपचारका लागि २५ हजार नगदसहित खाद्यान्न उपलब्ध गराएका थिए । कार्की रुखबाट खसेर कम्मरमुनिको भाग चल्नै नसक्ने अवस्थामा छन् ।

त्यस्तै अक्सिजन अभावका कारण कोरानो भाइरसको उपचारमा समस्या भोगिरहेका कसैलाई सिलिन्डरसहितको अक्सिजन त कसैलाई अक्सिजन भरेर दिने काम पनि सक्रिय रहँदै आएका छन् । हालसम्म ११ जनालाई सहयोग गरिसकेको खड्काले जानकारी दिए ।

कोरोना भाइरसकै कारण २०७६ सालको चैत ११ गते गरिएको लकडाउन र त्यसपछि गरिएको निशेधाज्ञाका दौरान पनि खड्काले समस्यामा परेका कैयौं व्यक्ति र परिवारलाई आर्थिक सहयोग, स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग स्वरुप प्रदान गरेका थिए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पीडितहरुको सहयोगार्थ खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


खड्काले सबैको साथ र सहयोगले दुःखीहरुलाई सहयोग गर्न सम्भव भएको बताउदै आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment