सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु: शेर बहादुर देउवा

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गरेका छन् ।

उनले आज एक विज्ञप्तिमा निकाल्दै कोरोना महामरीको दर्दनाक अवस्था तथा सरकारले गरेको गतिविधिहरुको विरोध गरेका छन् ।उनले विज्ञप्तिमा भनेका छन् कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भईरहेको छ । दैनिक हजाराैको संख्यामा कोभिडका बिरामी थप हुँदै छन् । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको छ । अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन् ।

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन ।

हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको आरोप लगाएका छन् ।

विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन । सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन । समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन उल्लेख गरेका छन् ।

फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ । यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ । अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको छ ।

सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो ।

जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु ।

यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु ।

देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु । देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment