घरेलु उद्यमशिलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशिलतालाई बढावा दिन जरुरी रहेको बताएका छन्। काठमाडौँमा बुधबार नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्दै उनले साना तथा घरेलु उद्योगको प्रवर्द्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे।

राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको प्रस्ट पारे। ‘गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि तथा आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगको योगदान छ,‘ उनले भने, ‘घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्ति लगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ।’

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवमा राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सिप, प्रविधि, कच्चा पदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउन सक्ने बताए। फलस्वरुप स्थानीयस्तरमा आत्मनिर्भर बढाउनाका साथै अन्तर्राष्ट्रिस्तरमा श्रम र संस्कृतिको पहुँच विस्तार हुने उनको भनाइ थियो।

‘यसबाट नेपाली सिप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्छ,’ राष्ट्रपति पौडेलले भने।

पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा सना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो। देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्था मिलाउन तत्काल आवश्यक रहेको उनले बताए।

महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्द्धनमा विशेष कार्यक्रम ल्याउन राष्ट्रपति पौडेलले सरकारको ध्यानाकर्षण गराए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment