प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिने पाँचै जना न्यायाधीश बिदामा

१८ फागुन, काठमाडौं ।  संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरुले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए ।

सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशमध्ये केही अझै दुई तीन दिन बिदामा रहने बताइएको छ ।

संवैधानिक इजलासमा रहेकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्छ । उहाँहरुले एक महिनाभन्दा बढी लगातार इजलासमा बसी गैरकानुनीरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर गरिएको रिट निवेदनको सुनुवाइ गर्नुभएको थियो ।

उहाँहरु आराम गर्नका लागि पनि केही समय बिदामा रहनुभएको बताइएको छ ।प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीशहरुले गत माघ ४ गतेदेखि लगातार ती रिट निवेदनको पक्ष-विपक्ष र एमिकस क्युरीका तर्फबाट भएको बहस सुन्नुभएको थियो । उहाँहरुले मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापना हुने आदेश दिनुभएको थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment