मासिक सवा खर्ब व्यापार घाटा व्यहोर्दै मुलुक, नौ महिनामा साढे १० खर्ब

०९ वैशाख, काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को नौ महीना अर्थात चैतसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ नाघेको छ । फागुन महिनासम्म ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

चैतसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.७५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

चालु आर्थिक वर्षको नौ महीना अवधिसम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment