सिटिजन्स बैंकको संचालकमा नियुक्त ईला शर्माले लिइन पद तथा गोपनीयताको शपथ

११ जेठ, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन्। ईला शर्मालाई अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

कानुनमा विशेष अनुभव रहेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी छन् साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेशनल विजनेस ल, इन्टरनेशनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।

निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छन् ।

उनले फुड फस्ट इन्फरमेसन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् ।

उनले आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेशनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छन् । उनी यस अघि नै एक प्रतिष्ठित वाणिज्य बैंकको संचालक रहिसकेकी छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment