व्यास नगरपालिकाका मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने उल्लेख छ। यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्नु भनिएको छ।गत जेठ २ गते यसको फैसला भएको थियो ।’

आदेशको प्रतिलिपि साथै राखी दोहोऱ्याइ मतगणना गर्ने कार्य मिति २०८१ असार २ गते बिहान १० बजे सुरु हुने ब्यहोरा जानकारी गराउँन निवेदक तथा विपक्षी वैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय तनहुँलाई दिनू’ भन्ने कुरा फैसलाको पूर्ण पाठमा उल्लेख छ । अदालतका रजिष्ट्रार अच्युत कुइँकेलका अनुसार पूर्ण पाठको पत्राचार निर्वाचन आयोगमा भैसकेको छ । उच्च अदालत पोखराले निर्वाचित भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना बदर गरेको निर्णय मिति २०८१ जेठ १ गते सुनाएको थियो।

निर्वाचन आयोगलाई विपक्षी बनाएको मुद्दामा न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेलको संयुक्त इजलासले मंगलबार मेयर पदको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो।अदालतका रजिष्ट्रार अच्युत कुइँकेलको संयोजनमा पुनः मतगणना गर्न आवश्यक कर्मचारी उपलब्ध गराइ रजिष्ट्रारको संयोजनमा मतगणना गर्न आदेश भएको छ।

२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो।

दीपकराज जोशी कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन्। स्थानीय निर्वाचनमा मेयर उम्मेदवार जोशीलाई एमालेले समर्थन गरेको थियो। जोशीले स्वतन्त्र उम्मेवारी दिएका थिए। निर्वाचनमा धाँधली गर्न आफूमाथि आक्रमण भएको, मतगणनामा पनि धाँधली गरेको र आफ्ना एजेण्टलाई मतगणनामा बस्न नदिएको जोशी पक्षको दाबी थियो। कैँची चुनाव चिह्नबाट निर्वाचनमा होमिएका दीपक राज जोशीले त्यतिबेला अहिलेका रास्ट्रपति रामचन्द्र पौडेलको गाउ व्यास नगरपालिका–८ रिस्ती गाविस भवनमा रहेको मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले सांघातिक हमला गरी ज्यान लिने प्रयास गरेको थिए । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उनी चढेको बा १५ च ६०२८ नम्बरको स्कारपियो समेत तोडफोड गरेका थिए।सोहि समयमा उक्त घटनालाई आधार बनाएर किटानी जाहेरि दिँदा पनि जोशीको मुद्दा दर्ता भएको थिएन। जुन मुद्दा पछि उच्च अदालत पोखरा सम्म पुगेको हो।

उक्त आक्रमण पछि जोशीलाई दमौली अस्पतालमा साधारण उपचार गराएपछि एम्बुलेन्स मार्फत पोखराको फिस्टेल अस्पताल पठाइएको थियो । पोखरामा उपचार नहुने भएपछि जोशीलाई थप उपचारका लागि काठमाडौँको फ्रन्ट लाइन अस्पतालमा लागिएको थियो । त्यहाँ पनि राम्रो उपचार संभव नभए पछि उहाँलाई भारतको मेदान्त अस्पतालमा लागिएको थियो। १७ वर्ष अमेरिका बसेर नेपाल फर्केका दीपक राज जोशी पेसाले इन्जिनियर हुन्। स्थानीय चुनावमा उनले नेपाली कांग्रेस बाट चुनावमा प्रतिस्पर्धा गर्नको लागि आवेदन दिएका थिए। १६ वटा आवेदन मध्ये जोशीको आवेदनलाई फालेर १५ वटा आवेदनमा छलफल गरी नेपाली काङ्ग्रेसले अर्को उम्मेदवार छानेपछि उनीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

त्यति बेला व्यास नगरपालिकाको निर्वाचनमा अहिलेका मेयर वैकुण्ठनाथ न्यौपाने र एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी बीच कडा प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार न्यौपानेले १२ हजार ७८ मत ल्याएर विजयी बनेका थिए । भने जोशीले ११ हजार ८२६ मत ल्याएका थिए । जोशी जम्मा २५२ मतले पराजित भएका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment