सरकारी वा सार्वजनिक संस्थाले तथ्याङ्क संकलन गर्न अनुमति लिनुपर्ने, गुणस्तर पनि परीक्षण हुने

०४ वैशाख, काठमाडाैं । सरकारी तथा सार्वजनिक संस्थाले तयार गर्ने तथ्याङ्कका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमति आवश्यक हुने भएको छ । सरकारले तथ्याङ्क संकलनलाई व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले तथ्याङ्क नियमावली तयार गर्दै अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

सरकारले तथ्याङ्क नियमावली २०८० जारी गर्दै तथ्याङ्क संकलनको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । नियमावली अनुसार राष्ट्रियस्तरको प्रतिनिधित्व हुने गरी तथ्याङ्क संकलन गर्न चाहने सरकारी निकाय वा संस्थाले राष्ट्रिय तथ्याङ्क कार्यालयमा निवेदन दिनुपर्नेछ । तथ्याङ्क संकलन अनुमति आवेदनका लागि सम्बन्धित संस्थाको निर्णयको प्रतिलिपि, तथ्याङ्ग संकलनको उद्देश्य कार्यक्षेत्र विधि र अनुमानित लागत सहितको अवधारणापत्र पेस गर्नु पर्नेछ । त्यसैगरी तथ्याङ्क संकलन अनुमति फाराम, तयार गरिएको प्रश्नावली, संस्था दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र तथ्याङ्क मुद्रण सङ्कलनका लागि वित्तीय स्रोत उपलब्ध रहेको विवरण समेत कार्यालयमा बुझाउनु पर्ने व्यवस्था नियमावलीमा छ ।

तोकिएका कागजात सहित आएको आवेदन उपर सिफारिस समितिले जाँचबुझ गरी तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त देखिएमा वा नदेखिएमा आफ्नो सिफारिस सहितको प्रतिवेदन प्रमुख तथ्याङ्क अधिकारी समक्ष पेश गर्नेछ । प्रतिवेदनको आधारमा तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त देखिएमा प्रमुख तथ्याङ्क अधिकारीले त्यस्तो अनुमति दिने निर्णय गरी अनुमतिपत्र प्रदान गर्नु पर्नेछ । तथ्याङ्क सङ्कलन अनुमति दिन उपयुक्त नदेखिएमा कारण खुलाई निवेदकलाई जानकारी गराउनु पर्ने समेत नियमावलीमा उल्लेख छ ।

कार्यालयले तथ्याङ्क संकलन अनुमति प्रदान गर्ने वा नगर्ने सम्बन्धी निर्णय निवेदन पेस भएको मितिले तीस दिनभित्र गरिसक्नु पर्नेछ । अनुमति फाराममा उल्लिखित कार्यतालिका बमोजिम कार्यसम्पादन नगरेमा कार्यालयले त्यस्तो अनुमतिपत्र खारेज गर्ने व्यवस्था समेत नियमावलीमा छ ।

तथ्याङ्क उत्पादनकर्ताले उत्पादन गर्ने तथ्याङ्कसम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्ने प्रयोजनका लागि आवश्यक मस्यौदा तयार गरी राष्ट्रिय तथ्याङक कार्यालय समक्ष पेस गर्नु पर्नेछ । मस्यौदा प्राप्त भए पछि कार्यालयले जाँचबुझ गरी उपयुक्त देखिएमा राष्ट्रिय तथ्याङक परिषद समक्ष पेस गर्नेछ । प्राप्त मस्यौदाको आधारमा परिषदले सम्बन्धित तथ्याङ्क सङ्कलनको राष्ट्रिय मानक तथा गुणस्तर निर्धारण गर्नेछ । तथ्याङ्क उत्पादनकर्ताले परिषद्बाट निर्धारण भएको राष्ट्रिय मानक तथा गुणस्तरको पालना गर्नु पर्नेछ ।

तथ्याङ्क उत्पादनकर्ताले कायम गर्नुपर्ने तथ्याङ्कीय गुणस्तरका सम्बन्धमा परिषद्ले तथ्याङ्कको सान्दर्भिकता, शुद्धता, विश्वसनीयता, समयबद्धता, पारदर्शिता, स्पष्टता र तुलनात्मकताको आधारमा एक गुणस्तर निर्धारण ढाँचा तयार गरी लागू गर्नेछ । सबै तथ्याङ्क उत्पादनकर्ताले गुणस्तर निर्धारण ढाँचाको पालना गर्नुपर्ने व्यवस्था नियमावलीमा उल्लेख छ ।

नियमावली अनुसार तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्ग सङ्कलन, प्रशोधन, विश्लेषण.प्रकाशन, भण्डारण र वितरण गर्दा राष्ट्रिय मानक र गुणस्तर पालना गर्नु पर्छ । तथ्याङ्कीय कार्यमा दक्ष तथा व्यावसायिक जनशक्तिलाई संलग्न गराउने तथा योग्यता पुगेका व्यक्तिलाई मात्र संलग्न गराउनु पर्ने व्यवस्था नियमावलीमा उल्लेख छ । तथ्याङ्क सङ्कलनको क्रममा उत्तरदाताको अनुमति नलिई कुनै पनि अर्को व्यक्तिलाई उपस्थित वा संलग्न गर्न नहुने व्यवस्था समेत नियमावलीले गरेको छ ।

त्यसैगरी नियमावलीलले तथ्याङ्क सङ्कलनका लागि विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ । तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्क सङ्कलन गर्दा गणना, सर्वेक्षण, प्रशासनिक अभिलेख, अध्ययन वा अनुसन्धान विधि अपनाई तथ्याङ्क सङ्कलन गगर्नु पर्नेछ ।
नियमावलीले सूक्ष्म कोरा तथ्याङ्क वितरण सम्बन्धी समेत व्यवस्था गरेको छ । तथ्याङ्क उत्पादनकर्ताले सूक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउँदा सूक्ष्म कोरा तथ्याङ्क

तथ्याङ्कीय प्रयोजन वा अनुसन्धानका लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै निश्चित व्यक्ति वा संस्थाको पहिचान, अध्ययन, जाँच वा छानबिनको लागि त्यस्तो तथ्याङ्क प्रयोग गर्न नहुने नियमावलीमा उल्लेख छ ।

सूक्ष्म कोरा तथ्याङ्क माग गर्ने संस्था वा व्यक्तिले जुन प्रयोजनका लागि तथ्याङ्क माग गरेको हो सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने, आफूले प्राप्त गरेको सूक्ष्म कोरा तथ्याङ्क अरु संस्था वा व्यक्तिलाई प्रयोग गर्न दिनु हुदैन । सूक्ष्म कोरा तथ्याङ्क प्रयोग गरी तयार पारिएका कुनै पुस्तक, लेख, कार्यपत्र, शोधपत्र, प्रतिवेदन वा अन्य प्रकाशनमा स्रोत उल्लेख हुनु पर्छ ।

राष्ट्रिय मानक र गुणस्तर कायम भएका तथ्याङ्कलाई आधिकारिक तथ्याङ्क मानिने नियमावलीमका उल्लेख छ । कार्यालयले गरेका गणना वा सर्वेक्षणबाट प्राप्त तथ्याङ्क, अन्तरप्रणाली आबद्धता कायम गरी प्राप्त भएको तथ्याङ्क, सरकारी निकाय वा सार्वजनिक संस्थाले सङ्कलन गरेको तथ्याङ्क वा निकायको प्रशासनिक अभिलेख तथा अन्य स्रोतबाट उत्पादित तथ्याङ र तथ्याङ ऐन बमोजिम कार्यालयले प्रमाणित गरेको तथ्याङ्क अधिकारीक मानिने छ । त्यसैगरी परिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही तथ्याङ कार्यालयले तोकेको अन्य तथ्याङ्कलाइ आधिकारी मानिने नियमावलीमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment