द्रुत बस सेवा: रङ पोत्न र साइन बोर्ड राख्न दुई करोड तीन लाख खर्च

०५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ सञ्चालन गर्न दुई करोड तीन लाखभन्दा बढी खर्च भएको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्मका सडकमा लाइन र रङ पोतेर द्रुत बस सेवाका निम्ति लेन छुट्ट्याइएको थियो । केही ठाउँमा साइन बोर्ड पनि राखिएका थिए । सोही कार्यका लागि दुई करोड तीन लाख ७१ हजार रुपैयाँ खर्च भएको हो ।

सडकमा लेन छुट्याउने काम काठमाडौं सडक डिभिजन र सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले गरेको थियो ।

रत्नपार्कदेखि जडिबुटी पुलसम्मको काम काठमाडौं सडक डिभिजन कार्यालयले गरेको थियो । त्यसका लागि ९९ लाख ७१ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

जडिबुटीबाट सूर्यविनायकसम्मको काम सूर्यविनायक–धुलिखेल सडक आयोजनाले गरेको थियो । त्यसका लागि एक करोड तीन लाख रुपैयाँ खर्च भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बताए ।

यसरी दुवै पक्षले रत्नपार्क–सूर्यविनायक सडकमा द्रुत बसका लागि लेनमा रङ लगाउने र साइन बोर्ड राख्ने काममा दुई करोड तीन लाख ७१ हजार रुपैयाँ खर्च गरेको हो ।

तीन कम्पनीलाई दिइएको थियो ठेक्का

लेन तयार पार्नका लागि तीन वटा कम्पनीलाई काम दिइएको छ । जसमा अनिता विजनेस हाउस, केएएम कन्सट्रक्सन, र सौरभ आर्टस एन्ड मिडिया रहेका छन् ।

काठमाडौं सडक डिभिजनका लागि सौरभ आर्टस एन्ड मिडियाले साइन बोर्ड राख्ने काम गरेको थियो । अनिता विजनेस हाउस र केएएम कन्सट्रक्सनले बाँकी काम गरेको डिभिजन कार्यालयले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका लागि भने सबै काम केएएम कन्सट्रक्सनले नै गरेको आयोजना कार्यालयले बताएको छ ।

गत असोज ३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

रत्नपार्कदेखि सूर्यविनायक रुटको यात्रा ४५ मिनेटमा पूरा गर्ने उद्देश्यले बिहान ९ देखि ११ र दिउँसो ४ देखि साँझ ६ बजेसम्म बस चलाउने गरी सेवा सञ्चालन गरिएको थियो ।

गत मसिंर १० गतेदेखि प्रत्येक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा बस छुट्ने गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment