अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ जेठ, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँका दरले २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । सो आइपीओमा स्थानिय बासिन्दाले आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाउने छन् ।

सो आईपीओमा लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा स्थानिय बासिन्दाहरुले सो आईपीओमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल नक्साल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकको बेशीसहर र भुलभुलेका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आरुबा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । अप्पर स्याङ्गे हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बारेमा

कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अपर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २.४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ साल फागुन १५ गते देखि विद्युत उत्पादन शुरु गरेको हो । कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment