मेरो पहिलो प्रेम

वसन्ती शाही

०६ बैशाख, काठमाडौं । कलम ! सुन्दा आनन्दित, लेख्दा मनमोहक र बोक्दा गर्व लाग्ने शब्द/वस्तु । कलम शब्द नै कति मायालु छ । मलाई यसको अति नै माया लाग्छ । कलम शब्द नै यति प्यारो लाग्छ कि मानौँ त्यो मैले जन्म दिएको बच्चा हो । मेरो पहिलो प्रेम । म कलमबिना घरबाहिर निस्किन पनि सक्दिनँ । मेरो ब्यागमा जहिले पनि कलम रहन्छ । यतिसम्म कि कुनै पनि ठाउँमा दस्तखत गर्नु परे अर्काको कलमले नगर्ने वाचा गरेकी छु । अर्काको कलमले दस्तखत गर्दिनँ पनि । 

मलाई हातमा कलम बोक्न गर्व लाग्छ । कलमसँग यति लगाव छ कि यसलाई हातमा समातिरह्यो भने पनि मलाई दिक्क लाग्दैन । कतै खसाल्दिनँ पनि । मलाई कुनै किसिमको बेचैनी या तनाव भयो भने हातमा कलम लिन्छु । यसलाई हेर्छु, खोल्छु, बन्द गर्छु, कापी समात्छु, लेख्न थाल्छु । यो प्रक्रियाले मेरो मनलाई हलुका बनाउँछ । शान्ति मिल्छ । तनाव हराएर जान्छ । एक्लै हुँदाको मेरो साथी कलम नै हो । साँझको बेलामा, कतै मनोरमपूर्ण वातावरणमा एक्लै हुन्छु भने कलमको याद आउँछ । 

सानोमा अक्षर सिक्दाबाहेक कापीका पानामा लेख्न सुरु गरेको बेलामा मेरो स्कुले झोलामा दुई÷तीनवटा निगालोका कलम हुन्थे । बुवाले चक्कुले तिखारी तिखारी निगालोको कलम बनाई दिनुहुन्थ्यो । अक्षर राम्रो हुन्छ भनेर निगालोको कलमले लेख्न लगाउनुहुन्थ्यो । सुरुमा अक्षर लेख्दा त आफ्नै हातले समातेर हात घुमाइदिनुहुन्थ्यो । अक्षर बनेपछि आहा ! कति राम्रा अक्षर भनेर हौसला दिनुहुन्थ्यो । कलमको टुप्पो अलि मोटो भयो भने अक्षर राम्रो देखिन्छ । धेरै मसिनो टुप्पो भएको कलमले लेख्नु हुन्न भनेर सम्झाउनु हुन्थ्यो । स्कुल जाँदा सिसीमा मसी पनि बोक्ने चलन थियो । मसीमा निगालोको कलम चोब्दै लेख्दै गरेको याद अझै ताजै छ ।

कलम यस्तो वस्तु हो, जसबाट कागजमा मसीद्वारा लेखिन्छ । कलमको प्रयोग अन्य वस्तुमा लेखनका लागि पनि गरिन्छ । प्राचीन कालदेखि आजसम्म कलमलाई अनेक प्रकारले लेखन प्रयोजनका लागि तयार गरिएका छन् । काम एउटै भए पनि यसलाई विभिन्न नामले नामाङ्कन गरिएको पाइन्छ । जस्तै– निगालोको कलम, नरकटको कलम, बाँसको कलम, प्वाँखबाट बनेका कलम, फाउन्टेन पेन, बल पेन, डट्पेन, पाइलट पेन, सेलो पेन, रोलर बलपेन, डिप पेन आदि । 

मेरो स्कुलेजीवनमा एउटा कलम थियो, जसमा एक पटक मसी भ-यो भने दिनभरिलाई पुग्थ्यो । छुट्टै मसीको भाँडो बोकिराख्ने झन्झट पनि नहुने र लेख्दा अलि मोटो लेख्ने भएकाले अक्षर पनि अलि राम्रा देखिन्थे । त्यसताका त्यो कलम दस रुपियाँमा किन्न पाइन्थ्यो । विभिन्न किसिमका बल पेनहरू आइसकेका थिएनन् । डट्पेनले लेख्यो भने मास्टरजीले लौरोले पिट्नुहुन्थ्यो । 

कलम सूचनाको माध्यम पनि हो । जब मानिसमा आवाज हुँदैन, तब आफूले भन्न खोजेको कुरा कलमको माध्यमबाट लेखेर प्रस्ट्याउँछ । मोबाइल फोनको प्रयोगभन्दा अघि मानिस हस्तलिखित चिठ्ठीपत्रमार्फत सूचना आदानप्रदान गर्थे । कलमलाई तरबारभन्दा पनि शक्तिशाली ठानिएको छ । स्कुलेजीवनमा वादविवाद प्रतियोगिता हुँदा तरबारभन्दा कलमलाई नै रोज्ने धेरै हुन्थे । मेरो रोजाइमा पनि कलम नै पथ्र्याे ।

अठारौँ शताब्दीमा युरोपमा कलमको व्यापक प्रयोग भएको पाइन्छ । विश्वविद्यालयहरू बढ्दै जाँदा विद्यार्थीका साथसाथै कलमको माग पनि अत्यधिक बढ्दै गएको हो । कुनै समय भारतमा रहेको नालन्दा विश्वविद्यालय नाम चलेका विश्वविद्यालय थियो । त्यहाँका धार्मिक कट्टरवादीहरू र शासकहरूबीचको लडाइँमा यो विश्वविद्यालयमा आगो लाग्यो । त्यहाँ भएका सबै ग्रन्थ आगोले जलेर ध्वस्त भए । बचेका केही ग्रन्थलाई त्यहीँ अध्ययनरत चेलाहरूद्वारा रातारात कलमले लेखेर प्रतिलिपि तयार पारेर सुरक्षित गर्ने प्रयास गरिएको थियो । कलमले नै लेखेर ग्रन्थहरूका प्रतिलिपि तयार पार्नु कति महìवको काम थियो । अहिलेको दुनियाँमा कल्पनाभन्दा बाहिरको कुरा ।

मुगल साम्राज्यकालमा भारतमा शिक्षाको विकासलाई प्राथमिकता दिइएन तर अङ्ग्रेजको उपनिवेशकालमा भने प्रशासनिक सहायकहरू उत्पादन गर्ने उद्देश्यले (सन् १८५७ पछि) धमाधम विश्वविद्यालय स्थापना भएको पाइन्छ । नेपालीले पनि बनारस हिन्दु विश्वविद्यालयको स्थापना भएपछि शिक्षाको अवसर पाएका थिए । 

नेपालमा भने फाउन्टेन पेनको प्रवेश सात सालको परिवर्तनपछि भएको मानिन्छ । सात सालतिर नै फाउन्टेन पेन नेपालमा भित्रिएको भए पनि मैले सहज रूपमा यो कलमले लेख्न पाइनँ । सरकारी कर्मचारी, शिक्षकसँग मात्र कोटको माथिल्लो खल्तीमा भिरेको कलम देखिन्थ्यो तर अहिलेको पुस्ता कोटको माथिल्लो खल्तीमा कलम राखेर हिँड्न त्यति रुचाँउदैन । अब विश्वमै लेख्ने काम नयाँ तरिकाबाट अपनाउन थालिएको छ । प्रायः मानिस कलमले लेख्नुभन्दा पनि कम्प्युटरको प्रयोगबाट लेख्ने गर्छन् । आई प्याड, ल्यापटप, मोबाइल फोनको प्रयोगबाट पनि लेख्ने काम गरिन्छ । कार्यालयमा पनि कलमको काम कम्प्युटरबाट नै हुन्छन् । प्रायः उच्च माध्यमिक तहभन्दा माथिका विद्यार्थीको रोजाइ पनि ल्यापटप या आई प्याड नै हुन्छ ।

यस्तो सुन्दै गर्दा के अहिले कलमको महìव घटेकै हो त ? अवश्य होइन । आजकाल त झन् महँगा ब्रान्डका कलम आविष्कार हुन थालेका छन् । कर्पाेरेट जगत्मा कलम एउटा प्रतिष्ठाको रूप बन्दै गएको छ । ठूला व्यावसायिक सम्झौताहरू गर्दा उत्कृष्ट ब्रान्डका महँगा कलमले दस्तखत गर्ने चलन छ । उच्च पदस्थहरूले पदभार ग्रहण गर्दा दस्तखत गर्नका लागि त्यस्तै उच्च ब्रान्डका कलम तयार गरिएका हुन्छन् । अहिले प्रायःजसो सङ्घसंस्थाले पनि आफ्नो कम्पनीको नामका कलम निकाल्ने र महìवपूर्ण भेटघाटमा उपहार दिने चलन बढेको छ । 

कलम मर्यादाको प्रतीक हो । शिक्षाको प्रतीक हो । मायाको प्रतीक हो । विकासको प्रतीक हो । शान्तिको प्रतीक हो । यसले व्यक्तिको छवि स्थापित गर्नका लागि अनुमति दिन्छ । यसले मानिसलाई अनुशासन र मर्यादा सिकाउँछ । ज्ञानको अर्थ दर्साउँछ । त्यसैले महìवपूर्ण समयमा महìवपूर्ण व्यक्तित्वबाट प्रयोग गरिएका कलमलाई महìव दिएर सजाएर राखिएको पाइन्छ । विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले जर्मन पेलिकन नामको कलमले लेख्थे रे ! उनले संसार प्रसिद्ध सापेक्षवादको सिद्धान्त पनि सायद यसै कलमले लेखे होलान् । प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेनले कन्कलिन क्रेसेन्ट फिलर कलमले लेख्थे रे ! उनी त्यो कलम उत्पादन गर्ने कम्पनीका आधिकारिक वक्तासमेत थिए । एकताका नेपालमा मोब्लाँ कम्पनीको कलमको चर्चा निकै चुलिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment