विद्यार्थीहरूले सम्भावनाको खोजी गर्नुपर्छ : पर्यटन राज्यमन्त्री

०९ चैत, काठमाडौं । विद्यार्थीहरूले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छन्।

काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै दीक्षित विद्यार्थीहरू देशको कर्णधार भएकाले विद्यार्थीहरूले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने उनको भनाइ छ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेकनोलोजी एण्ड इनोभेषन, मलेशियाका प्रमुख अपरेटिङ अफिसर गुरपरदिप सिंहले संसार निरन्तर परिवर्तन भएकाले भविष्यमा थप जटिल चुनौतीहरूलाई सामना गर्नुपर्ने बताए।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताए।

पर्यटन क्षेत्रमा प्रविधिको महत्त्व र धार्मिकस्थललाई भर्चुअल टुरहरूमार्फत् सूचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने उनले बताए।

त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका कार्यकारी निर्देशक प्रकाश कुमार केज्रीवालले दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उद्देश्य ठूलो राख्दा आफ्नो पेशामा सदैव प्रगतितर्फ जाने विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई रोजगार सृजना गरी आत्मनिर्भर गराउन निजी क्षेत्र सदैव तत्पर रहेको बताए।

दीक्षान्त समारोहमा सन् २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सूचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबीएका १९, एमएससी सूचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थी दीक्षित भएका छन्।

एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सूचना प्रविधि कलेज हो।



मल्टिमिडिया ग्यालरी

Politic
Comments (0)
Add Comment