अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

१९ फागुन, काठमाडाैं । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो ।
अघिल्लो भदौ महिनामा पहिरोले पक्की सडक भत्काएको सो स्थानमा गत वर्ष पुनः पहिरो गएपछि वैकल्पिक सडक खुलाइएको थियो तर वैकल्पिक सडक पनि ढुङ्गा माटो झरेर अवरुद्ध भएको थियो ।

योजना सडक कार्यालय लमजुङका डोजरले पहिरो हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनका अनुसार बेँसीसहरबाट काठमाण्डौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी बेँसीसहरमा समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिरोले पटक पटक सवारी साधन रोकिँदै आएको छ ।

पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् ।

यस सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ । यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरोमा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment