गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसक्यो: प्रधानमन्त्री प्रचण्ड

०१ फागुन, गेटा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। सोमबार सो क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‌बाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका हुन्।

‘यसलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो नै क्याविनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ,’ उनले भने, ‘अब व्यवहारिक रुपमा यसलाई मेडिकल कलेज चलाउनेतिर पनि तीब्र गतिमा अगाडि जान्छ। विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडि बढिसकेको छ।’ उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञ लगायतसंग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए।

‘सबैभन्दा खुसीको कुरा के हो भने योपटक मेडिकल कलेज मात्रै होइन्। यसलाई हिजो मात्रै प्रदेशका सबै जसो जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डाक्टर, विज्ञहरुसंग छलफल गर्दा वहाँहरुको माग यसलाई गेटा मेडिकल कलेजको रुपमा त चलाउनु नै छ। सँगसँगै देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा लैजानु पर्‍यो भन्ने थियो,’ उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो। यो सुदूरपश्चिमको मात्रै होइन, यो देशकै निम्ति गर्वको कुरा हो।’

उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रमदेखि नै आफू यससँग प्रत्यक्ष रुपमा जोडिएको बताए। ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिएँ। यसको बेस बन्दै गर्दा पनि मैले यसको अनुगमन गरेको थिएँ,’ उनले भने, ‘यसपटक फेरि अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया त अब अगाडि बढ्यो नै। यसलाई अगाडि बढाउन स्वास्थ्यसंग सम्बन्धित दरबन्दीका काम छिट्टै पूरा गरिन्छ।’

उनले आफूले प्रदेशस्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै सुरु गरेको बताए। ‘मलाई सुदूरपश्चिममा पहिलोपटक प्रधानमन्त्री हुँदा पनि केही काम गर्ने र सबभन्दा धेरै पटक सुदूरपश्चिममै आएर अवलोकन पनि गरेको थिएँ,’ उनले भने, ‘यसपटक पनि प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै भएको छ।’

हेलिकोप्टरमार्फत् कैलाली पुगेर गेटा मेडिकल कलेजको अवलोकन गरेका प्रचण्ड कञ्चनपुर गएका छन्। प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम छ।

प्रचण्डले महेन्द्रनगरमा सोमबारदेखि सुरू हुने महोत्सवको उद्‌घाटन पनि गर्नेछन्। त्यसलगत्तै पार्टी जिल्ला कमिटीले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनी उपस्थित हुने छन्। एकै दिनका यी चार कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड सोमबार नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment