देउवालाई कसैले उकास्यो र पुनः प्रधानमन्त्री बन्न आतुर हुनुभयो : माधव नेपाल

१३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुवातमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति दिएको र पछि बोली फेरेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टीका सुदूरपश्चिम जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले देउवालाई कसैले उकासेको बताए।

‘शेरबहादुर देउवालाई कसैले उकासिसकेको थियो। उनी प्रधानमन्त्री बन्न फेरि आतुर देखिए। त्यो देखिसकिएपछि एउटा समस्या खडा भयो,’ उनले भने।

अध्यक्ष नेपालले सुरुवातमा आफैंले देउवाबाट नहुने भएकाले ‘तपाईं नै अघि सर्नुस्’ भनेर प्रचण्डलाई भनेको पनि खुलासा गरे। उनले परिस्थिति जटिल रहेको र रवि लामिछाने गरेको नयाँ र क्रान्तिकारी कुरालाई जनताको एउटा हिस्साले अपेक्षा गरिरहेकाले त्यस्तो प्रस्ताव गरेको उनको भनाइ थियो।

‘जनताको असन्तुष्टि कतिखेर सडकमा पोखिने हो भन्ने डर पनि विद्यमान छ। हामीले देखिरहेका छौँ, विभिन्न देशमा आर्थिक संकट देखिएपछि जनता सडकमा आउने गरेका छन्। नेपालमा पनि उथलपुथल होस् भन्ने चाहने शक्ति क्रियाशील छन्। यो सबै अवस्थाको सामना गर्नका लागि शेरबहादुर देउवाजीबाट हुनसक्ने स्थिति देखिँदैन। प्रचण्डजी, तपाईं नै अगाडि सक्नुपर्छ भनेर मैले नै भनेँ,’ उनले भने।

तर प्रचण्डले देउवासँग एक्लै कुराकानी गरेर आफूले प्रधानमन्त्री बन्ने सहमति लिएको उनको भनाइ छ। ‘हामीलाई बेठीक लाग्यो। केही गर्नुछ भने हामीसँग पनि कुरा गरेर विश्वास जितेको भए हुन्थ्यो। तर सुटुक्क जाने र खुसुखुसु कुरा गर्ने गर्दा अविश्वास पैदा हुन्छ,’ उनले भने।

आफूले खुसुखुसु कुरा गरेर नहुने र सिंगो प्याकेजमा कुरा गर्नुपर्ने धारणा राखेको पनि उनले बताए। त्यसपछि सुरुवातमा देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डको नाममा सहमति जनाएको र पछि असहमत भएको खुलाए।

प्रचण्ड बालुवाटारबाट बाहिरिएर बालकोटमा सहमति गरिसकेपछि बेलुका ४ बजे मात्रै देउवाले आफूलाई फोन गरेर प्रचण्डलाई प्रधानमन्त्रीका लागि सहमति जनाउने र उनलाई फर्काउन भनेको तर आफूले समय बितिसकेको भनेको अध्यक्ष नेपालको भनाइ छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment