सोल्टी होटलले कमायो सवा ४१ करोड रुपैयाँ खुद नाफा, ३०% ले बढ्यो जगेडा कोष

२८ वैशाख, काठमाडाैं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महीना अवधिमा ४१ करोड २३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटल ३७ करोड ११ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । वित्तीय खर्च घटेर पर्यटकीय गतिविधि बढेपछि समीक्षा अवधिमा होटलको नाफा ११.०८ प्रतिशतले बढेको हो ।

खुद नाफा बढेसँगै समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी वार्षिक ५ रुपैयाँ ९२ पैसा र प्रति सेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा पुगेको छ । अघिल्लो आवको यसै अवधिमा होटल प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ७१ पैसा थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ७४.१८ गुणा छ । आर्थिक वर्ष २०८०/८१ को माघ, फागुन र चैत महीनामा नेपाल भ्रमणमा आउने भारतीय तथा चिनियाँ पर्यटकहरुको संख्यामा महत्वपूर्ण अभिवृद्धि भएपछि होटलको आम्दानीसँगै मुनाफा पनि बढेको हो ।

नेपालको अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोभिड महामारी पूर्वको अवस्थामा सुधार भएको छ । पर्यटकीय गतिबिधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि कारण रहेको होटलले औंल्याएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२४ को जनवरीदेखि अप्रिलसम्म हवाईमार्गबाट मात्रै ४ लाख १६ हजार ६९ पर्यटक आएका छन् ।

चैत मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल १ अर्ब ६८ करोड १० लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटलको कुल आम्दानी १ अर्ब ५० करोड ९२ लाख ८४ हजार रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा व्यवसायबाट हुने आय १७ करोड १७ लाख ८२ हजार रुपैयाँ अर्थात ११.३८ प्रतिशत बढेको हो । यस्तै सोल्टीले सञ्चालन नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ११.३८ प्रतिशत बढेर ५१ करोड २७ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा ४६ करोड ३ लाख ७३ हजार रुपैयाँ थियो । होटलको कुल व्यावसायीक आम्दानीमा अघिल्लो आर्थिक वर्ष २०७९–८० को ९ महीना अवधिमा अत्यन्त उत्साहजनक तथा महत्वपूर्ण अभिवृद्धि भएको छ ।

आम्दानी मात्र होइन कम्पनीको कुल खर्च पनि बढेको छ । कम्पनीको कुल खर्चमा ११.३८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १६ करोड ८३ लाख २२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्च १ करोडले बढेर २० करोड १४ लाख ८६ हजार पुग्दा खाद्यान्न तथा पेय पदार्थको लागत २करोड ५० लाख ७८ हजारले बढेर २८ करोड लाख २६ हजार रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी सुविधा ५ करोड ३ लाखले बढे ३९ करोड ३० लाख ४३ हजार रुपैयाँ पुगेको छ । होटलको ह्रासकट्टी १ करोड ४२ लाख ४६ हजारले बढेर १० करोड १० लाख ८७ हजार रुपैयाँ र प्रशासनिक तथा अन्य खर्चका शीर्षक १ करोड ९७ लाख ८१ हजारले बढेर १९ करोड २५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । साथै होटलको वित्तीय खर्च ४४ लाख ५२ हजारबाट घटेर ५ लाख ८९ हजार मात्रै भएको छ। यसले पनि होटलको नाफा वृद्धिमा टेवा पुगेको हो ।

दश रुपैयाँ अंकित दरमा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ९२ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । अघिल्लो आवको नाफाबाट होटलले ५ प्रतिशत बोनस सहित कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार ३०.७३ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ४६ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आगामी चौथो त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरुको सन्दर्भमा विश्व पर्यटनका गतिविधिहरुमा समेत उल्लेख्य रुपमा अभिवृद्धि भई विश्वको अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा समेत महत्वपूर्ण वृद्धि भइरहेको छ । विश्वका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक एयरलाइन्सहरुका अन्तराष्ट्रिय व्यावसायीक उडानहरु नियमित रुपमा सञ्चालित भई रहेको परिप्रेक्ष्यमा नेपालको पर्यटन बजार पनि लाभान्वित हुने अपेक्षा होटलको छ ।

चौथो त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरुको सन्दर्भमा कम्पनीले कुल आय वृद्धि गर्नका लागि अपनाउनुपर्ने सबै व्यावसायीक रणनीतिक संयन्त्रहरुको समुचित सदुपयोग गर्दै होटेलको अक्युपेन्सी बढाउने उपलब्ध अत्याधुनिक प्रविधिका साधनहरुको प्रयोग लगायतका सबै उपायहरु अवलम्बन गरी आम्दानी अभिवृद्धि गर्ने बताएको छ । साथै होटेल सञ्चालन लागतमा मितव्ययीता, नियन्त्रणात्मक कार्य योजना अनावश्यक खर्च कटौतिलाई जारी राख्दै विविध बजारखण्डमा सूक्ष्म प्रवेश गर्दै आफ्ना व्यावसायिक गतिविधिहरुको कुशलतापूर्वक सञ्चालन जारी राख्ने योजना होटलको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment