आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

१४ मंसिर, काठमाडाैं । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मैनालीलाई मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।

मैनालीले अर्थ मन्त्रालयबाट मंगलबार नै नियुक्तिपत्र लिएका छन् । मैनालीको विभाग प्रवेशले हालको अवस्थामा रहेको कर तथा भ्याट असुलीमा सुधार हुने अपेक्षा लिइएको छ ।

मैनाली केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजस्व अनुसन्धान विभागमा रहेर समेत काम गरिसकेका व्यत्तिः हुन् । राजस्व अनुसन्धान विभागबाट सरुवा भएर प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका सचिवको कार्यभार सम्हाल्न पुगेका उनी केहि महिना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा नियुक्त भएका थिए ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनले ठूल्ठूला फाइल खोलेर नक्कली भ्याट बिल छानबिन प्रकरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । रामेश्वर खनालको पालामा सहसचिव लक्ष्मण अर्यालको नेतृत्वमा बनाएको नक्कली भ्याट बिल अनुसन्धान टोलीमा उपसचिवको रुपमा मैनाली अनुसन्धानमा खटिएका थिए। मैनाली सहित सो टोलीमा कुलप्रसाद चुडाल र गोविन्द सुवेदी सदस्य रहेका थिए ।

ठूला करदाता कार्यालयमा रहँदा पनि धेरै बहुराष्ट्र्रिय कम्पनीलाई कर तिराएका उनले भेहिकल ट्रयाकिङ सिस्टमको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले आँटिला र निष्कलंक प्रशासकको रुपमा छबी बनाएका छन् ।

मैनालीलाई विभाग पठाएसँगै विभागका महानिर्देशक रितेश शाक्यलाई मन्त्रालय तानिएको छ ।

अर्थ मन्त्रालयले चुनाव अगाडि नै विभागको महानिर्देशकमा मैनालीलाई पठाउने तयारी गरेपनि अचारसंहिता लागिसकेको भन्दै निर्वाचन आयोगले रोकेपछि उनको सरुवा रोकिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment