तीन महिनामा मोबाइल बैंकिङ मार्फत एक खर्ब ६२ अर्ब तथा क्युआर कोडबाट १७ अर्ब बढीको कारोबार

०१मंसिर, काठमाडाैं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  ।

सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब नौ करोड ७० लाखको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाखको कारोबार भएको छ ।

त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाखको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा १५ करोड ३० लाखको कारोबार भएको थियो ।

केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ ।

त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ ।

त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोगबाट हुने कारोबार २८ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा दुई खर्ब ३९ अर्ब १४ करोड ८० लाखको कारोबार भएकोमा चालु आवको समीक्षा तीन खर्ब सात अर्ब २७ करोड ५० लाखको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ ।

गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment