सिक्लेस हाइड्रोको आईपीओ शुक्रबार प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार

०७ असाेज, काठमाडाैं । सिक्लेस हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को शुक्रबार प्रि–अलटमेन्ट सम्पन्न भएको छ ।

हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबार आईपीओ बाँडफाँडको प्रि अलमेन्ट गरी मंगलबार बिहान ९ बजे बाँडफाँडको कार्यतालिका राखेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ ।

बोर्डबाट अनुमति पाए असोज ११ गते मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म साढे ११ करोड मूल्यको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रति सेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको थियो । सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कम्पनीले ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ ।

९३ प्रतिशतले सेयर नपाउने

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ९३ प्रतिशत आवेदकको हात खाली हुनेछ । प्रशोधित नभएको प्रारम्भिक तथ्याङ्क अनुसार कुल आवेदकको ७ प्रतिशतले मात्र सेयर पाउनेछन् । निर्देशिका बमोजिम १ लाख ५ हजार ८०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । आईपीओमा १५ लाख ३८ हजार ३८३ वटा आवेदनत परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का अनुसार कम्पनीको आईपीओमा १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको माग परेको हो । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारण लगानीकर्ताबाट १० लाख ५८ हजार कित्ताका लागि आवेदन मागेको थियो । अन्तिम दिनसम्म मागको १६.३० गुणा आवेदन परेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment