ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को बार्षिक साधारणसभा सोमबार बिहानबाट शुरु

३० साउन, काठमाण्डौं । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा सोमबार बिहानबाट शुरु भएको छ । टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ होटल हयात रिजेन्सीको सभा हलमा आयोजित उक्त बार्षिक साधारणसभाको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पर्यटन र ट्रेकिङ उद्योगसँग संबन्धित नीतिगत र कानुनसँग जोडिएर आउने विषयमा समय सापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रदेश सरकारले बढाएको शुल्क संबन्धमा आगामी भाद्र ३ र ४ गतेलाई बैठक आव्हान गरि समस्या समाधानका लागि अघि बढेको जानकारी समेत दिनु भयो ।

सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले बागमती प्रदेश सरकारले ल्याएको पर्यटन ऐनमा चुक्ता पुँजी २५ लाखबाट बढाई ५० लाख पुर्याईनु अनुपर्युक्त र स्वीकार्न नसकिने प्रकृतिको रहेको बताउनु हुँदै संघिय मन्त्रालयले यसलाई परिमार्जन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याउनुभयो । साथै, उहाँले गाउँपालिकाले पर्यटकबाट जबर्जस्ती शुल्क उठाउनु अनुचित रहेको, देशैभर टिम्स पूर्ण रुपमा कार्यान्वयन आउन नसक्नु दुखद रहेको, ट्रेकिङको हकमा जटिल र अव्यवहारिक नीति लागु गरिएको, प्याकेज महंगो भएको लगायतका थुपै्र समस्याहरुले गर्दा ट्रेकिङ व्यवसाय संकटापन्न स्थितीमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम माझ कान्छा पर्वतारोहीको किर्तिमान बनाएका स्वर्गिय शम्भु तामाङलाई ५० हजार राशीको डा. हर्क गुरुङ टान पुरस्कार अर्पण गरिएको थियो । उनकी धर्मपत्नी करुणा तामाङले उक्त पुरस्कार ग्रहण गरिन् । त्यसैगरि, सामाजिक सेवा अन्तर्गत थ्रि स्टारकी लक्की क्षेत्री कार्कीलाई पुरस्कृत गरिनुका साथै निमा डिकी लामा र फुुर्वा शेर्पालाई टान पासाङ ल्हामु अवार्डबाट विभुषित गरियो भने टान सम्बद्ध उत्कृष्ट ११ वटा ट्रेकिङ एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसर माझ विभिन्न संचारकर्मीहरुलाई टान पत्रकारिता अवार्ड २०२२ बाट सम्मानित समेत गरियो । सम्मानित हुने पत्रकारहरुमा राज्यदैनिकका कार्यकारी सम्पादक एवं नेपाल टेलिभिजनबाट विगत डेढ दशक देखी सचेतना कार्यक्रम संचालन गर्दै आउनुहुने सरोज ओझा, न्युजलाईन्स नेपालका अध्यक्ष राजु भट्ट, नेपाल टेलिभिजनका प्रदिप चापागाई, न्युज नेपाल नेटवर्कका संचालक सविन धमला, राससका संवाददाता अच्युत रेग्मी, अर्थ व्यापारका नविन काफ्ले लगायत हुनुहुन्छ ।

उद्घाटन सत्र पश्चात् साधारण सभाले टानको नयाँ कार्यसमिति चयनका लाग निर्वाचन गर्दैछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment