बजेट- प्रचारमुखी, वितरणमुखी र चुनावमुखी: पूर्वअर्थमन्त्री

१६ जेठ, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे हिजो संसदमा प्रस्तुत भएको बजेट प्रचारमुखी, वितरणमुखी र चुनावमुखी भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने, “यो बजेटले विद्यमान आर्थिक समस्यालाई यसले नजरअन्दाज गरेको छ । बैंकमा पैसा छैन, जताततै हाहाकार छ । सरकारले पैसा बाँड्ने कुरा गरेको छ । तर स्रोत सुनिश्चित गरेको छैन । त्यसैले यो बजेट प्रचारमुखी, वितरणमुखी र चुनावमुखी मात्र छ ।”

उनले बजेट चुनावपछिको परिस्थिति ख्याल गर्न असफल रहेको पनि औंल्याए । पूर्व अर्थमन्त्री पाण्डेले भने, “बजेटले ६० लाख परिवारलाई इन्डक्सन चुल्हो दिने भनेको छ । त्यसका लागि ३० अर्ब छुट्याउनुपर्छ । बजेटले रकम व्यवस्था गरेको छैन । करिब ४० लाख किसानलाई पेन्सन दिने भनेको छ । उनीहरुको उत्पादन ५ देखि १० खर्बको आसपास बिक्री हुन्छ । अब सरकारले ५० अर्ब पेन्सन बापत हाल्नुपर्छ । तर बजेटमा त्यसको पनि प्रबन्ध छैन । एक वर्षमा सगरमाथाको फेदीमा सडक पुर्याउने भनेको छ, नारायणगढ एक घन्टामा पुर्याउने बाटो बनाउने भनेको छ, अब एक घन्टामा चन्द्रमा पुग्नेछौं भन्न पनि बेर छैन । सरकारले यो चुनावी वर्ष हो भन्ने पनि ख्याल गरेको छैन । मंसिरको चुनाव जितेर मात्र हुँदैन । यो सरकारले चुनावपछिको कुरा देखेको छैन । बजेट कार्यान्वयन हुने स्थिति नै छैन ।”

कर्मचारीको तलबवृद्धि हुनासाथ जनताले महँगी धान्न नसक्ने अवस्था आउने उनले औंल्याए । पाण्डेले थपे, “कर्मचारीको तलबवृद्धि हुनेबित्तिकै बजार भाउ ह्वात्तै बढ्ने अन्तर्राष्ट्रिय प्रचलन छ । बजारमा पैसाको प्रवाह बढ्नासाथ घरबेटीले डेराभाडा बढाउन थाल्छन् । अनि मुद्रास्फिति बढ्छ । यतिबेला पपुलिस्ट होइन, यथार्थमा आधारित बजेट आउनुपथ्र्यो । मुख्य कुरा यो बजेटलाई अहिलेको अवस्थाले धान्छ कि धान्दैन ? दिगो हुन्छ कि हुँदैन ? अर्थतन्त्रले जग हाल्छ कि हाल्दैन भन्ने हो ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment