नागरिक सहायता कक्षले सेवाग्राहीलाई सहज

१२ जेठ, बलेवा । चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा–जाँदा झण्डै रु एक हजार खर्चेर उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर शेरभुजाले तीन दिनसम्म पालिका मुकाम कुश्मीशेरा धाउनुभयो ।

सम्झौताका लागि आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी नहुँदा शेरभुजाले व्यक्तिगत खर्चमा लामो समय लगाएर सडक निर्माणको योजनाको सम्झौता गर्नुप¥यो । पटक–पटक पालिका पुग्नुभएका उहाँले कहिले के कागज नपुगेको भनेर फर्किनुप¥यो त कहिले प्रक्रियाका विषयमा प्रश्नहरू आए । यसअघि उहाँलाई कसैले पनि योजना सम्झौता गर्दा आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी गराएका थिएनन् । उहाँले झण्डै चार दिन खर्चेर योजना सम्झौता र पहिलो किस्ताको रकम बुझेको दुई महिनामात्रै भएको छ ।

जैमिनी नगरले विनियोजन गरेका योजनामा झन्झट व्यहोर्ने पुरण एक्ला व्यक्ति हुनुहुन्न । योजना सम्झौता र फरफारकका विषयमा आधारभूत ज्ञानसमेत नभएका यहाँका उपभोक्ताले कयौँपटक समस्या भोग्दै आएका छन् । हरेक वर्ष सञ्चालन हुने योजनामा प्रायः पुरानै उपभोक्ता समितिका पदाधिकारी दोहोरिने भएकाले समस्या नभए पनि नयाँ उपभोक्ता समितिले यस्तो समस्या भोग्दै आएका थिए ।

शेरभुजाजस्तै उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको समस्या अब जैमिनीमा दोहोरिने छैन । यस्तै गुनासाको चाङ लागेपछि जैमिनीले सहायताकक्ष स्थापना गरेको छ । नवनिर्वाचित नगरप्रमुखले पदभार ग्रहण गर्दाका दिन पहिलो निर्णय गरेको नागरिक सहायताकक्ष स्थापना कार्यान्वयनमा आइसकेको छ । यो सहायता केन्द्रले अब आम उपभोक्तालाई सहयोग गर्ने छ ।

पालिकामा आउने सेवाग्राहीलाई सहज बनाउनका लागि नागरिक सहायताकक्ष स्थापना गरिएको जैमिनीका नगरप्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो । कुनै पनि सरकारी कार्यालयमा छिटोछरितो रूपमा सेवा पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न सहायताकक्षको स्थापना गरिएको उहाँको भनाइ छ । उहाँले नागरिकको गुनासो सुनेकै आधारमा पहिलो प्राथमिकतामा नागरिक सहायताकक्ष परेको बताउनुभयो ।

नागरिक सहायताकक्षबाट सेवाग्राहीले निवेदनका ढाँचा, आवश्यक कागजातलगायत विषयमा जानकारी लिन सक्नेछन् भने आवश्यक सहयोग पाउनेछन् । नगरपालिकाको कुनै पनि काम गर्न आउने सेवाग्राही त्यसै फर्किन नपरोस् भन्ने तरिकाबाट नागरिक सहायताकक्षलाई व्यवस्थित गर्दै लैजाने जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सेवा लिन आउँदा सेवाग्राहीले सहायताकक्षमा पुगेर आवश्यक सहयोग लिन र कागजातको नमूना प्राप्त गर्न सक्ने उहाँको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment