ओस्करमा क्रिसलाई थप्पड हानेका विल स्मिथले मागे माफी, एकेडेमीबाट दिए राजीनामा

२१ चैत, एजेन्सी । हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेका थिए। यो घटनाप्रति उनले अहिले माफी मागेका छन्। उनले सामाजिक सञ्जाल्मार्फत रकसँग माफी मागेका हुन्।

‘म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु क्रिस। मैले लाइन क्रस गरेँ, म गलत थिएँ। म लज्जित छु। प्रेम र दयाको दुनियाँमा हिंसाको कुनै ठाउँ छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले थप लेखेका छन्, ‘म एकेडेमी, शोका निर्माता, उपस्थित सबै मानिस र दुनियाँभरबाट हेर्ने सबैसँग माफी माग्न चाहन्छु। मेरो व्यवहारले सुन्दर यात्रामा एक दाग लाग्यो। आगामी दिनमा यस्तो काम हुने छैन र गर्दिनँ।’

सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले विल स्मिथकी श्रीमती जेडाप्रति व्यंग्य गरेका थिए।

जेडाको रोगलाई लिएर रकले मजाक गरेपछि स्मिथले मञ्चमै उक्लेर रकलाई थप्पड हानेका थिए। यसपछि रकले यो घटनालाई सामान्य रूपमै सल्टाउने प्रयास गरेका थिए।

अहिले आएर विल स्मिथले उनीसँग सार्वजनिक रूपमै माफी मागेका हुन्। विलले फिल्म ‘किङ रिचार्ड’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।

हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेका थिए। उनै अभिनेता स्मिथले एकेडेमी (एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस) बाट राजीनामा दिएका छन्।

विल स्मिथले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘९४ औं संस्करणको ओस्कर अवार्डमा मेरो प्रतिक्रिया पिडादायी र अक्षम्य थियो। मैले एकेडेमीको विश्वासलाई धोका दिएँ। मैले अन्य उम्मेदवार र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ।’ यस्तै उनले परिवर्तन हुन समय लाग्ने भन्दै अब हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एकेडेमीले पनि स्मिथको निर्णय उचित रहेको बताउदै राजीनामा स्वीकृत गरेको छ। साथै, अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको पनि एकेडेमीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment