स्कुल बन्द ( गद्यकविता )

लक्ष्मीप्रसाद ढकाल

०३ माघ, काठमाडाैं ।

क्लासको भन्दा ग्लासको महत्त्व भएको देशमा
कोरोनाका नाममा स्कुल बन्द हुन्छ
कोरोनाका नाममा भट्टी पसल खुल्ला हुन्छ
क्लास र ग्लास
ग्लास र क्लास

एकै ठाउँमा सोच्ने विषय नै होइन
तर यहाँ ,
दिनभरि स्कुल बन्द गरेर रातभरि भट्टी खोलिन्छ
किनकि देश हाँक्ने नेता क्लासबाट होइन
ग्लासबाट उत्पादन भएका हुन् ।

क्लास हात्तीको देखाउने दाँत बनेको छ
ग्लास हात्तीको चपाउने दाँत बनेको छ
बालबालिकाको मस्तिष्कमा कोरोनाको बीज रोपिएको छ
क्लास र ग्लास
ग्लास र क्लास

एकै ठाउँमा सोच्ने विषय नै होइन
तर यहाँ ,
बालबालिका पढ्ने स्कुल बन्द छ
तस्कर , भ्रष्ट र यौनपिपासुका लागि भट्टी खुल्ला छ
किनकि देशको नियमकानुन बनाउने नेता क्लासबाट होइन
ग्लासबाट उत्पादन भएका हुन् ।

सरकार अनलाइन क्लासको खोक्रे र बोक्रे नारा दिन्छ
राजधानीमा नै अनलाइन क्लासको हरीबिजोग छ
दूरदराजको हालत के होला ?
क्लास र ग्लास
ग्लास र क्लास

एकै ठाउँमा सोच्ने विषय नै होइन
तर यहाँ ,
क्लासको महत्त्व नबुझ्ने नेता
ग्लासको महत्त्वले देश हाँक्ने नेता बनेका छन्
त्यसैले यहाँ ,
नेता क्लासबाट होइन ,ग्लासबाट उत्पादन भएका हुन् ।

* समाप्त*
रचना : लक्ष्मीप्रसाद ढकाल
कमल गाउँपालिका २ , झापा
हाल : दधिकोट , भक्तपुर ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLaxmi Prasad DhakalLockdowntechnology
Comments (0)
Add Comment