फोर्ब्सको धनाढ्यहरुको सूचीमा रहेका भारतीय धनाढ्यको सम्पत्ति वर्षमै ५०% ले बढेर २५७ अर्ब डलर पुग्यो, अदानी एक्लैको ५० अर्ब डलर वृद्धि

२२ असाेज, एजेन्सी । फोर्ब्सको धनाढ्यहरुको सूचीमा रहेका १०० अर्बपतिहरुको कुल खुद सम्पत्ति सन् २०२१ मा ७७५ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। बिल्कुलै नयाँ रेकर्ड बनाउँदै यी अर्बपतिहरुको खुद सम्पत्ति यसबराबर पुगेको फोर्ब्सले जनाएको छ।

सन् २०२० को तुलनामा अग्रणी सय भारतीय धनाढ्यहरुको सम्पत्ति यो एक वर्षमै २७५ अर्ब डलरले बढेको फोर्ब्सले उल्लेख गरेको छ। कोरोना महाव्याधिका बाबजुद भारतीय धनाढ्यहरुले आफ्नो सम्पत्ति उल्लेख्य रूपमा बढाएका हुन्।

भारतमा बर्सेनि डलर अर्बपतिहरु बढ्दै गएकाले उनीहरुको सम्पत्तिमा पनि वृद्धि हुनु नौलो होइन। तर, पूरा देश कोभिड-१९ महाव्याधिसँग जुधिरहेको बेला सीमित धनाढ्यको सम्पत्तिमा भने अभूतपूर्व रूपमा बढ्नुले आश्चर्यचकित बनाउने किसिमको भएको हो।

कोभिड महामारीकै बेला भारतीय धितोपत्र बजार बम्बई स्टक एक्सचेन्ज सूचक ‘बीएसई सेन्सेक्स’ ले एक वर्षमा ५२ प्रतिशतको छलाङ मारेको छ। यो वृद्धिले बीएसईमा सूचीकृत स्क्रिपहरुमध्ये ८० प्रतिशतभन्दा धेरैको मूल्य बढेको थियो, जसका कारण ६१ अर्बपतिहरुको भाग्यमा कम्तिमा एक अर्बको सम्पत्ति थपिएको छ।

रिलायन्स ग्रुप अफ इन्डष्ट्रिजका मालिक तथा अध्यक्ष मुकेश अम्बानी पछिल्लो १४ वर्ष (सन् २००८) देखि लगातार भारतको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका छन्। अम्बानीको सम्पत्ति (नेट वर्थ) यो एक वर्षमा चार अर्ब अमेरिकी डलरले थपिँदै ९२.७ अर्ब डलर पुगेको छ।

तर एक वर्षमै सर्वाधिक रकमले खुद सम्पत्तिमा वृद्धि गर्नेमा भने भारतका दोस्रो धनाढ्य गौतम अदानीले सबैलाई उछिनेका छन्। उनको सम्पत्ति पछिल्लो एक वर्षमा २०२० को बाट ४९.५ अर्ब डलर अर्थात् करिब २०० प्रतिशतले बढेको छ। अम्बानीलाई पछ्याएका दोस्रो भारतीय धनाढ्य अदानीसँग ७४.८ अर्ब डलरको खुद सम्पत्ति पुगेको छ, जुन अम्बानीको भन्दा १७.९ अर्ब डलर कम हो।

भारतका सय धनाढ्यले बढाएको कुल सम्पत्तिमध्ये पाँच भागको एक भाग अदानीले बढाएका छन्।

उत्कृष्ट १० धनाढ्यभित्र पर्दै क्रमशः सूचीको तेस्रो र चौथोमा परेका शिव नदारको ३१ अर्ब डलर र राधाकृष्णन् दमानीको २९.४ अर्ब डलरको सम्पत्ति पुगेको छ। दमानीले पनि एक वर्षमा दोब्बरले सम्पत्ति बढाएका फोर्ब्सले उल्लेख गरेको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस पुनावाला पनि धनाढ्यको सूचीमा माथि उक्लिँदै १९ अर्ब डलरको सम्पत्तिका साथ भारतका पाँचौं धनी बनेका छन्।

सावित्री जिन्दलले पनि १८ अर्ब अमेरिकी डलरको नेट वर्थसहित पहिलोपटक भारतका सर्वाधिक १० धनाढ्यको सूचीमा प्रवेश गरेकी छन्। एक वर्षअघि उनको नेट वर्थ ६.६ अर्ब डलर बराबर थियो।

उनीसहित अन्य अधिकांश अर्बपतिले यो कोभिडकालको एक वर्षमा आफ्नो सम्पत्ति अर्बौंले बढाएका छन्। तर औषधि व्यवसायबाट अर्बपति बनेका चारजनाको सम्पत्ति भने घटेकाे छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarForbeshealthIndiaLockdownnepalNewsPoliticRichest Persontechnology
Comments (0)
Add Comment